समाचार

विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र सुनसरी ३ मा विवाद, अनिश्चितकालका लागि निर्वाचन स्थगित

सुनसरी । नेपाली काङ्ग्रेसको जारी १४औँ महाधिवेशनका क्रममा बिहिबार बिहान ९ बजेको लागि तोकिएको सुनसरी क्षेत्र नम्बर ३ को निर्वाचन कार्यक्रम दिउँसो २ बजे सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

उपसभापति विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र रहेको सुनसरी ३ मा सुरुमा बुधबार निर्वाचन हुने कार्यक्रम थियो । तर निर्वाचन कार्यक्रम रोकेर दिनभर ‘सहमति’का लागि प्रयास भएको थियो । भोट माग्ने र मागिनेहरू निर्वाचनस्थल दुहवी रङ्गशालाको चौरमा घाम तापेर फर्किएका थिए । सुनसरी ३ का मतदाता सदस्य काङ्ग्रेसीहरूका अनुसार विजय गच्छेदारले पहिले नेतृत्व गरेको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष प्रदीप चौधरीलाई सहमतिको क्षेत्रीय अध्यक्ष बनाउने प्रयास गरेका थिए ।

तर क्षेत्रीय सभापतिका अरू आकाङ्क्षीहरू मेहदी हसन र सत्यनारायण गच्छदारले नमानेपछि हिजोको चुनाव गर्ने समय त्यसै घर्किएको थियो । समय घर्किएपछि बिहीबार बिहानका लागि निर्वाचन गर्ने सूचना टाँसिएको थियो ।

मतदान अधिकृत देवनारायण यादवले दिउँसो २ बजे टाँसेको मतदान कार्यक्रम स्थगित गरिएको सूचनामा ‘मतदान कार्य सुरु गर्नुअघि गर्नुपर्ने मुचुल्काका लागि केही उम्मेदवारका प्रतिनिधि अनुपस्थित रहेकाले मतदान कार्य रोक्नुपरेको,’ जिकिर गरिएको छ ।करिब सात सय मतदाता रहेको सुनसरी क्षेत्र ३ मा महाधिवेशन प्रतिनिधिमा पनि कुन पक्षलाई कति भागबन्डा गरेर मिलाउने भन्नेमा विवाद रहेको छ ।

Leave a Comment