समाचार

कांग्रेसमा प्रदेशसभाको चुनावी रौनक : दाङमा सहमतिबाट नेतृत्व चयन नहुने पक्का

दाङ / कांग्रेसमा १४औँ महाधिवेशनको रौनक बढेको छ । यही क्रममा ३ मंसिर हुने प्रदेशसभा र ६ मंसिर हुने प्रतिनिधिसभा क्षेत्रमा नेतृत्वका लागि उमेदवारहरू दौडधुप गरिरहेका छन् ।

यसअघि वडा, गाउँ/नगरको अधिवेशनमा पनि चुनावी प्रक्रियाबाट नेतृत्वकाे टुंगो लगाएको कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रकाे नेतृत्व पनि चुनावमार्फत नै हुने पक्का भएकाे छ । सबै जसाे क्षेत्रमा उम्मेदवारी घाेषणा भइसकेकाले सहमतिमा नेतृत्व चयन हुने सम्भावना न्युन बन्दै गएकाे हाे । दाङका ६ प्रदेशसभा निर्वाचन क्षेत्र र तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेतृत्वको लागि १८ जना प्रतिस्पर्धी मैदानमा होमि सकेका छन् ।

क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा श्रीपत चौधरी र तारा डाँगी, प्रदेश सभा ‘ख’ मा दिनेश गिरी र दिवाकर योगी टिमसहित चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ को प्रदेश क र ख दुवैमा सहमतिकाे प्रयास भए पनि चार जना चुनावी मैदानमा प्रचारप्रसारमा लागेको क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए । ‘अहिलेसम्म क मा श्रीपत चौधरी र ख मा दिनेश गिरीकाे उमेदवार निश्चित छ ।’ उनले भने, ‘दुवै क्षेत्रमा दुई जना अझै टुंगो लागेको छैन्, तर सकेसम्म उहाँहरूलाई सहमतिमा ल्याउने कोसिस छ ।’ यद्यपि, चारै जनाले चुनावी अभियानलाई तिव्र बनाएकाे उनले बताए । ‘चारै जनाले घरदैलो अभियान गरिरहेका छन् ।’ उनले भने, ‘हामी सकेसम्म दुई जनालाई उम्मेदवारी फिर्ता गराउने प्रयासमा छौँ ।’

क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ र ‘ख’ मा पनि चार जना चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई जना उम्मेदवारको टुंगो लागिसकेको छ । क्षेत्रीय सभापति भूपबहादुर डाँगीका अनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लागिसकेको छ । यस्तै क्षेत्र नम्बर २ मा भिमप्रकास खड्का र निर्मल डाँगी सभापति पदका लागि चुनावी मैदानमा छन् । प्रदेशको ‘क’ मा सभापति पदका लागि प्रकाश श्रेष्ठ र दुर्गा जीएम प्रतिस्पर्धामा छन् भने प्रदेश ‘ख’ मा लालबहादुर गिरी र अभियान बस्नेत नेतृत्वको दाउमा छन् । उम्मेदवारी घोषणा भइसकेकाले सबै उम्मेदवार अहिले घरदैलो अभियानमा व्यस्त छन् ।’ कांग्रेसलाई संगठित गर्न दुवै पक्षका उम्मेदवारले आफुहरू बलियो भएको बताएका छन् ।

दाङ क्षेत्र नम्बर ३ मा भने प्रदेशसभा क र खमा उम्मेदवारको टुंगो लागे पनि प्रतिनिधिसभाका लागि उम्मेदवारको टुंगो लागि नसकेको क्षेत्रीय सभापति जगत खड्काले बताए । ‘प्रदेशसभाको क र ख दुवैमा उम्मेदवारको टुंगो लागिसकेको छ ।’ क्षेत्र नम्बर ३ को प्रदेशसभा क मा बलिराम खत्री र देवेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् भने प्रदेशसभा ‘ख’ मा टीकाराम घर्ती र खिमबहादुर वलीले सभापतिमा उम्मेदवारी घोषणा गरेर चुनावी अभियान थालेका छन् । अधिवेशनको मिति नजिकिँदै जाँदा घरदेखि चोक–चोकमा कांग्रेस नेताहरू चुनावी अभियानमा लागेका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा हुने निश्चित भइसकेको जिल्ला सभापति कृतिबहादुर खड्काले बताए । ‘अब सहमतिको माध्यमबाट नेतृत्व आउने सम्भावना झिनो बन्दै गएको छ ।’ उनले भने, ‘लगभग सबै ठाउँमा उम्मेदवारी घोषणा भइसकेको अवस्थामा मतदानबाटै नयाँ नेतृत्व आउने निश्चित छ ।’

Leave a Comment