समाचार

बर्थ डे पार्टीमा ग्याङ फाइट, खुकुरी प्रहार गरी दाहालको हत्या

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका ६ को कायलपुरस्थित एउटा घरमा आईतबार राति जन्मदिनको पार्टी ग्याङ फाइटुमा परिणत हुँदा एक जनाको हत्या भएको छ । घटनामा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको खुकुरी प्रहारबाट हत्या भएको हो । मृतक दाहाल सुनसरीको खनारस्थित रिलायन्स धागो उद्योगमा काम गर्थे । उनी इटहरी १३ खनारमा नै डेरा गरेर बस्दै आएका थिए। मृतक दाहाल आफ्ना साथी बूढीगंगा ६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन उनको घर पुगेका थिए ।

बर्थ डेको पार्टी चलिरहँदा मदिरा सेवन गरेका दुई युवा समूहबीच विवाद सुरू भएको थियो। त्यही विवाद खुकुरी हानाहानमा परिणत भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार बूढीगंगा ६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छरसात जनाको समूहसँग दाहालको विवाद भएको थियो।

विवाद बढ्दै गएपछि रिजनलाई नजिकैको बारीमा लगेर उनीहरूले आक्रमण गरेका थिए। उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ। टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए।

Leave a Comment