समाचार

मोरङ पथरीमा बसको ठक्करबाट बेलबारीका नाबालकको मृत्यु

बेलबारी / मोरङको पथरी बजारमा बसको ठक्करबाट आज (मङगलबार) बिहान एक जना नाबालकको मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिएर झापाको काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २०० नम्बरको बसले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा दुर्घटना गराएको हो । बसको ठक्करबाट बेलबारी नगरपालिका–४ घर भएका ७ वर्षीय विवश आचार्यको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।

बसको ठक्करबाट गम्भीर घाइते भएका विवशको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको जानकारी खड्काले दिए । उनका अनुसार आमा भावना आचार्यसँगै सडक पार गर्दै गरेको अवस्थामा बसले नाबालकलाई ठक्कर दिएको हो । नाबालकसँगै रहेकी आमा भने सकुशल छिन् ।

दुर्घटनापछि प्रहरीले बस र चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Comment