समाचार

७ महिनादेखि फलामको साङ्लोमा ताप्लेजुङका सरोज लिम्बू

फुङ्लिङ । फक्ताङलुङ गाउपालिका–४ इखावुका एक युवकलाई सात महिनादेखि साङलोले बॉधेर राखिएको छ । मानसिक समस्याका कारण घर छाडेर हिँड्न थालेपछि १९ वर्षीय सरोज काम्बाङ लिम्बूलाई घरमै बॉधेर राखिएको परिवारले जनाएका छन् । यसअघि उपचारका लागि झापाको बिएमसी र भारतको सिलगुडी पु¥याए पनि केही समय ठिक भए पनि फेरि समस्या बल्झिएकाले गत वैशाखदेखि खुट्टामा साङ्लोले बॉधेर राखिएको सरोजका पिता फिपराजले बताए । “छाड्यो भने मान्छेलाई आक्रमण गर्न खोज्ने र घर छाडेर हिँड्ने गर्न थाल्यो”, सरोजका दिदी रीताले भनिन्, “छाड्यो भने भिर–पहरामा लड्छ कि, मान्छेलाई आक्रमण गर्छ कि भन्ने डर भयो, उसलाई पनि खतरा अरुलाई पनि खतरा भएपछि साङ्लाले बाँध्न बाध्य भयौँ ।” प्रत्येक दिन दिसा–पिसाब त्यही गराउने र बेलुका ओछ्यान पनि त्यही लगाइदिने गरिएको उनको भनाइ थियो ।

आर्थिक स्रोत जुटाउन नसकिएकाले थप उपचारका लागि लैजान नसकेको रीताले बताइन् । “पहिला भएभरको लाखौँ पैसा सकियो”, उनले थपिन्, “हामी गाउँघरमा मेञ्जो खेती किसानी गरी खानेले उपचार गर्न पनि गाह्रो रहेछ ।” पहिला गरेको उपचारपछि केही सुधार भएकाले परिवारलाई उपचार हुन्छ भन्ने आशाचाहिँ छ । चार वर्ष उपचार गर्न विभिन्न अस्पतालमा लैजाँदा अलिअलि भएको पैसा सकिएको र थोरै भएको जग्गा जमिनमध्ये केही बन्धकी राखेर आएको पैसाले उपचार गरिएकोे पारिवारिक स्रोतले जनाएको छ । विगतका दिनमा भन्दा दिनदिनै शारीरिकरूपमा कमजोर बन्दै गएकाले छिट्टै उपचारमा लैजानका लागि जग्गा बेच्ने सोचाइ भइरहेका बखत थप आर्थिक स्रोत जुटाउन उचार सहयोग रसिदमार्फत गाउँगाउँमा सहयोग सङ्कलन गर्ने तयारी पनि भइरहेको छ । चार वर्षअघि सरोज एसइई परीक्षा दिएपछि विदेश जानका लागि काठमाडौँ पुगेका थिए तर उमेर नपुगेपछि काठमाडौँबाट घर फर्किए र त्यस पछि उनमा मानसिक समस्या देखिन थालेको बाबु फिपराजले बताए ।

दैनिक साढे चार घण्टा पैदल हिँडेर सुनदेवी माध्यमिक विद्यालय इखावुमा अध्ययन गरेका उनी बिहान उकालो जान अढाई र फर्कन दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । अधारभूत तह भने घर छेउको फक्ताङलुङ आधारभूत विद्यालयमा अध्ययन गरेका थिए । दुःख गरेर पनि पढाई राम्रै थियो तर पनि के कारणले हो यस्तो समस्या देखिएको रीताले बताइन् ।

दुई भाइ र एक छोरीमध्येका कान्छाको उपचार गर्न नसकेकामा आमा गौमायालाई पीडा भएको छ । “छोराछोरी बॉधेर राख्नुपर्दा साह्रो गाह्रो हुँदोरहेछ नानी”, उनले भनिन्, “खै उपचार गर्न लैजान पैसा छैन, कति रकम लाग्छ त्यो पनि थाहा छैन ।” ठ्याक्कै हिसाब किताब नभए पनि रू सात लाखभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । पार्टीका नेता, र जनप्रतिनिधिले हेरेर पनि उपचारका लागि केही सहयोग उपलब्ध गराएका छैनन् ।

स्थानीय सरकारले नै उपचारमा सहयोग गर्नुपर्ने कांग्रेस जिल्ला कार्यसमितिका पूर्वउपसभापति मणि लावुङले बताए । “म घरमा पुग्दा ऑखा पट्टिले बॉधेर गीत गाइरहेको थियो”, उनले भने, “यसो हेरेको खुट्टा साङ्लाले बॉधेको रहेछ, त्यसपछि सोधीखोजी गरेर वडाध्यक्षलाई उपचारका लागि सहयोग गर्नुपर्छ भनेको छु ।” यो गाउँपालिकाले गर्नुपर्ने र आफूले पनि सक्दो सहयोग गर्ने उनले बताए ।

Leave a Comment