समाचार

बेलका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, मजदुरको चेकबुक नै कब्जा

उदयपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा बेलका नगरपालिकामा अनियमतिता भएको रहस्य खुलेको छ । सो कार्यक्रमअन्तर्गत बेलका नगरपालिका ४ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमिता भएको रहस्य खुलेको छ । रोजगारमा नाम निस्केका सवैको बैंक खाता खोलाइए पनि काम नगरि कर्मचारी र जनप्रतिनिधिले पैसा झ्वाम पारेको रहस्य खुलेको छ ।मजदुरले पाउने ज्याला नदिई अनियमितता गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीत बहादुर मगरले सूचनाको हक प्रयोग गरि लिएको डकुमेन्टमा देखिन्छ । काममा लगाइएका सवै मजदुरको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक विमला थापाले जानकारी दिए । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६ सय रकम विनियोजन भएपनि १३ लाख २० हजार ६ सय ५३ रुपैया खर्च भएको संयोजक थापाले जानकारी दिईन् ।

खातामा ३६ हजार ७६८ रुपैया जम्मा, हातमा ५०० मात्र

बेलका नगरपालिका ४ ठोक्सिला कटारी खानेपानी आयोजना निर्माणको लागि १२ जनाले रोजगार पाएको डकुमेन्टमा देखिन्छ । आयोजना निर्माणको कामको लागि रचना कुमारी सार्कीको पनि नाम रोजगार कार्यक्रममा निस्केको थियो । उनको कामको लागि नाम निस्किएर कुमारी बैंकमा खाता पनि खोलेका थिए । तर, काम लगाउने बेलामा उनलाई कसैले बोलाएनन् । जव असारको अन्तिम दिनमा मात्रै छिमेकी जेठानी विष्णु नेपाली सार्कीले पाँच सय रुपैया लिएर आएर दियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम निस्केपनि ५ सय मात्रै पाएकी रचना कुमारी सार्की । तस्विर : नागरिक बहस
रचनाले पैसा फिर्ता दिएको विष्णुले भनेको कुरा सुनाईनन “तिम्रो रोजगार कार्यक्रममा फोटो खिच्न र खाता खोल्न रामपुरसम्म जाँदा आउँदा भएको खर्च पाँच सय रुपैया फिर्ता दिएको छ । मलाई पनि पाँच सय दिएको छ ।” मैले काम पनि गरेको छैन, मसँग चेक पनि छैन्, खातामा कति पैसा आयो त्यो पनि मलाई थाह छैन् सवै उत्तैबाट आएकाहरुले के के गर्यो मलाई केही थाह छैन् । उनले भनिन, “मेरो नक्कली हस्ताक्षर गरेर बैंकमा भएको पैसा उठाएर लगेछन्, मलाई दिने बेला पाँच सय मात्र दिएको छ ।”

रोजगारबाट अधुरो काम, कामै नगरेकालाई पनि भुक्तानी

रोजगार कार्यक्रममा नाम निस्केका सवैको बैंक खाता खोलाइएको छ । अर्काेतिर खातामा जम्मा भएको रकम झिक्न मजदुरको चेक नै कब्जामा लिएर खाली चेकमा हस्ताक्षर गराइएको नन्दी कुमारी मगर र उर्मिला तामाङ (राई) ले बताईन । उनीहरुले काम नगरिकन ५ हजार पाएकी छिन् । तर खातामा कति पैसा आएको बारे उनीहरुलाई जानकारी नै छैन् ।

नगरपालिकाबाट प्राप्त डकुमेन्टमा नन्दी कुमारी सहित १६ जनाले सुन्दरनगरी डाँडाटोल हुँदै बबला ६ जोड्ने सडक निर्माण योजनामा ८६ दिन काम गरेको देखिन्छ र कर कट्टी गरेर उनको खातामा ४४ हजार १७ रुपैया आएको देखिन्छ ।सोही सडक निर्माण आयोजनामा सिताराम विष्टले ४ हजार मात्रै पाएका छन् भने एक दिन पनि काम नगरेका कृष्ण बहादुर गिरी ४० हजार पाएका छन् ।

एक मजदुरका अनुसार उनले आफ्नै ठेलामा व्यपार गर्दाको फुर्सद भएन कहाँबाट काम गर्न आउँछ तर पनि उनले ४० हजार पायो । यस विषयमा कृष्ण बहादुर गिरीलाई प्रश्न गर्दा एक महिना काम गर्दा मैले ४० हजार रुपैया पाएको जानकारी दिए । “मलाई ४० हजार दिएपनि १५ हजार फिर्ता गरेको छु ।” गिरीले भने, “काम गर्दा गर्दै गिटी, बालुवा, सकिएपछि काम छोडेर आएको छु । काम अधुरै छ ।”
मजदुरले रोजगारी बापत व्यक्ति ४८ हजार ५४० रुपैया सम्म पाउनु पर्नेमा चेक कब्जा गरेर व्यक्ति अनुसार एक हजारदेखि पाँच हजारसम्मको दरले मात्र भुक्तानी दिएकोे मजदुरहरुले आरोप लगाएका छन् ।

चेक नै कब्जा गरेर नक्कली हस्ताक्षरबाट रकम झिक्यो

गभ्रे सडक हुँदै दमहि कल्भर्ट निर्माण योजनाको लागि गंगा मंग्रातीको नाम परेपनि उनले कामै गरेको छैन् । रोजगार वापत उनलाई समितिले एक रुपैया बुझाउन घरै आएपनि उनले रकम बुझिन । तर, बैंक खाताबाट उनको १० हजार २३७ रुपैया गायव भएको छ । उनले खाता बैंकमा खाता खोलेपनि समितिका पदाधिकारीले नै चेक बुक राखेर मेरो रकम मैले हस्ताक्षर नगरिकनै झिकेको बताईन् ।

गभ्रे सडक हुँदै दमहि कल्भर्ट निर्माण योजनाको लागि १० जना कामदार खटिएको देखिन्छ । कल्भर्ट निर्माण गर्न इन्द्र बहादुर बस्नेतलाई एक हजार दिएर चेकमा हस्ताक्षर गराएको छ । उनले २० दिन काम गरेर १० हजार २३७ रुपैया लिएको नगरपालिकाको डकुमेन्टमा देखिएको छ । बस्नेतले भने, “मैले कल्भर्ट निर्माण गर्ने बेलामा मेरो हात मर्केकोले काम गरिन मलाई चेकमा हस्ताक्षर गरायो र एक हजार दियो ।”

यस्तै नन्दलाल आचार्य र मनोज आचार्यले जनही ३६ हजार ७६८ रुपैया पाउनु पर्नेमा उनीहरुले नौ हजार पाँच सयको दरले बुझेका छन् ।
यस्तै बालकुमार मगर, नारायण कटुवाल, अमृता विक, गोमा खड्का, मोहन प्रसाद आचार्य, नगेन्द्र थापा, थिर बहादुर माझी, मने सार्की, सिताराम विष्ट, छत्र बहादुर आले मगर, कल्पना सार्की, दल बहादुर सापकोटा, मनोज नेपाली, एक बहादुर निरौला, निरज पुर्कोटी, इन्द्र कुमारी तामाङ, कल्पना कुमारी सार्की, अम्बु तामाङ लगायतले चेकमा हस्ताक्षर गराएर एक देखि पाँच हजार रुपैयासम्म दिएका छन् ।

यस्तै रोजगार कार्यक्रममा नामै नभएका टिकाराम आचार्यले पनि काम पाएका छन् । उनले ठोक्सिला कटारी खानेपानी आयोजनामा काम गरेवापत ९ दिनको ६ हजार पाएका छन् । उनलाई दैनिक ६ सय रुपैयाको दरले दिने भनेपनि ४ सय रुपैया बढी पाएको टिकारामले बताए ।

वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा पैसा आफुखुशी खाएको चर्चा हुन थालेपछि सोही वडाका वडा सदस्य टंक प्रसाद अधिकारी नगरपालिका कर्मचारी लगायत समितिका सदस्यहरुले अनुगमन गरेको फाइल प्रमाणित गर्न दवाव दिएको छ । फाइल प्रमाणि गर्न दवाव दिए पनि आयोजनाको बारेमा आफुलाई कुनै जानकारी नभएकोले आफुले कुनै हस्ताक्षर नगरेको वडा सदस्य अधिकारीले बताए ।

यता बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गलत काम गरेको पत्ता कर्मचारी, जनप्रतिनिधि वा समिति जो सुकै भएपनि सजायको भागिदार हुनु पर्ने बताए ।

Leave a Comment