समाचार

भेडी गोठाले लिलप्रसादकाे करोड डुब्दा पनि राेकिएनन् पाइला

पोखरा / साथीसँगी स्कुल जाँदा उनी भेडा डोर्‍याएर खर्कतिर उक्लिए । गुरुङ समुदायमा लाहुर जान गाह्रो थिएन । लाहुरबाटै मनग्गे आम्दानी गर्न सकिन्थ्यो । उनकै आँखाअगाडि साथीहरू बेलायती, भारतीय सेनामा भर्ती भए । उनले अरु इलम सोचेनन् । बथानमा भेडा थप्ने र डाँडा डुलाउने सपना मात्र देखे । सानै उमेरदेखि खर्क डुलेका सिक्लेसका लिलप्रसाद गुरुङ डेढ दशकदेखि भने व्यावसायिक रूपमै भेडापालक किसान बनेका छन् । गुरुङ समुदायमा भेडा अनिवार्य जनावर हो । लेकतिर उनका आफ्नै भेडीगोठ छन् । गोठभरी भेडा छन् । तर, गएको १ असार उनका लागि कालो दिन बन्यो ।

घरघोर वर्षा । निमेषभरमै बगे ३२६ भेडा र ३ वटा भोटे कुकुर । १४ वर्षदेखि भेडीगोठ चलाउँदै आएका लिलप्रसादको झण्डै करोड सम्पत्ति एकै छिनको बाढीले सखाप पार्‍यो । यति धेरै क्षति भएपछि सायदै मान्छेहरू यही पेसालाई निरन्तरता दिन्छन् । लिलप्रसादले हिम्मत हारेनन् । उनको पाइला थाकेनन् । बाढीले रित्तिएको गोठ फेरि भर्न थालेका छन् । भेडीगोठाले लेखनाथ गुरुङ र स्थानीय पेउबहादुर गुरुङसँग मिलेर उनले भेडा पालनलाई निरन्तरता दिएका छन् ।

म्याग्दी, बागलुङ, लमजुङ र कास्कीकै विभिन्न लेकहरूबाट उनले भेडा संकलन गरेका छन् । हाल दुई सयभन्दा बढी भेडा जम्मा गरिसकेको उनले बताए ।
‘लमजुङबाट ४६ वटा ल्याएँ । माछापुच्छ्रे र अरु ठाउँबाट १५० जति जम्मा गरेँ’, उनले भने, ‘ऋण खोजेर चलाइरहेको छु । थोरैले गोठ चलाएर फाइदा छैन । धेरै जम्मा गरौं भने लगानी गर्ने पैसा छैन । विस्तारै थप्दै जान्छु ।’

वर्षमा पाँच लाख हाराहारी आम्दानी गर्ने उनले सुनाए । ‘५ लाख त जसरी पनि हुन्छ । हिउँदमा बढी किन्छन् । दसैंतिहारमा पनि खोज्छन् । लगानी बढाउन सके घाटा चाहिँ छैन’, उनले अघि भने, ‘जे कुरा पनि पैसा नै रहेछ । पैसा कमाउन पनि सुरु मै पैसा चाहिने रहेछ । हामी पैसा नहुनेले गर्ने काम चाहिँ केही नहुने क्या ।’

भेडा गुरुङ समुदायको परम्परा हो । ‘सबै चाडवाडमा भेडा नभई हुँदैन । अहिले भेडा पाल्नेहरू छैनन्’, सिक्लेसका स्थानीय देवीजंग गुरुङले भने, ‘लिलप्रसादबाहेक कसैले पालेका छैनन् । उनले पनि छोडे भने धेरै समस्या पर्छ । त्यसैले गाउँलेले पनि उनलाई प्रोत्साहन गरेका छन् ।’

उनका अनुसार भेडा पालनलाई व्यावसायिकतासँगै संस्कृति जगेर्नाको रूपमा पनि लिने गरिन्छ । लिलप्रसादले भेडा खरिदमा २८ लाखभन्दा बढी खर्च गरिसकेका छन् । ‘जीनव नै भेडाको पछि लागेर बित्यो । यो उमेरमा फेरि के काम गर्ने ?,’ दु:ख मान्दै उनले भने, ‘जानेकै यही हो । घाटा लाग्यो भनेर जानेको काम छोड्नु कसरी ?’

लिलप्रसादको भेडा बगेको समाचार सुनेपछि सिक्लेसमा जन्मिएर युके बस्दै आएकाहरूको मन पोल्यो । अनि पीडामा मलम लगाउन सहयोग अभियान सुरु गरे । प्रत्येक सहयोगीले एउटा भेडाको मुल्य बराबर सहयोग गर्ने गरी रकम उठाएर करिब आठ लाख नगद उनीहरूले सहयोग पठाएका छन् ।

गाउँलेले पनि उनका लागि सहयोग जुटाएका थिए । आधुनिकतासँगै हिजाेआज गण्डकीका उच्च पहाडी क्षेत्रमा भेडा पाल्ने प्रचलन घट्दै गएको छ । सरकारले भेडापालनमा सहयोग र अनुदान बढाएपनि किसान छैनन् । भेडापालन व्यवसाय आफैँमा चुनौतीपूर्ण छ ।

‘लेकमा एक्लै बस्नुपर्छ । नयाँ पुस्तामा भेडा पाल्ने सोच छैन । गोठाले पाउनै मुस्किल छ’, कास्कीका पशु प्राविधिक सुरेशकुमार श्रेष्ठले भने, ‘सकेसम्म हाम्रोतर्फबाट प्रोत्साहन गरिरहेका छौं ।’ चरन क्षेत्रको समस्याले भेडा पालन लोप हुन थालेको हो । कास्की, म्याग्दी, पर्वत, गोरखालगायत जिल्लाका उच्च पहाडी र मनाङ, मुस्ताङ र बागलुङमा बढी भेडापालन हुँदै आएको थियो ।

Leave a Comment