खेलकुद समाचार

नेपाल यू-२३ टोली भोलि स्वदेश फर्कने

काठमाडौं / एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी जनाएको नेपाली टोली भोलि (बुधबार) नेपाल फर्कने भएको छ । छनोट प्रतियोगितामा तीन खेल खेलको नेपाली टोली बुधबार साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम रहेको टिम व्यवस्थापक उत्तम न्यौपानेले न्युज कारखानालाई जनकारी गराए । प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो । नेपाल तीनवटै खेलमा जितविहीन र गोलविहीन रह्यो ।

पहिलो खेलमा बलियो इरानविरुद्ध ४-० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपाल लेबनानसँग ४-० गोल अन्तरले नै पराजित भयो । अन्तिम खेलमा आयोजक ताजस्कितानलाई पराजित गर्दै इरान समूह ‘बी’ को विजेताको रूपमा फाइनल चरणमा स्थान बनायो ।

समूह ‘बी’ मा नाै अंकसहित अपराजित इरान शीर्ष स्थानमा रह्यो । एक खेलमा पराजित ताजकिस्तान ६ अंकसहित दोस्रो स्थानमा रहँदा तीन खेलमा एक खेल जितेको लेबनान तेस्रो स्थानमा रह्याे । यता, नेपालले तीन खेलमा जितविहीन र गोलविहीन रहँदा १४ गोल व्यहोर्दै तालिकाको पुछारमा रह्यो । यस प्रतियोगितामा नेपाल लगातार तेस्रो संस्करण गोलविहीन भएको हो । यसअघिका दुई संस्करणमा समेत नेपाल गोलविहीन रहँदै आएको थियो ।

Leave a Comment