समाचार

डायनासोरमार्फत जलवायु परिवर्तन सम्मेलनमा दिइएको सन्देश

काठमाडौं / राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले स्कटल्यान्डकाे ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलन (कोप-२६) को सन्दर्भमा जारी गरेको भिडियाे अहिले चर्चामा छ । जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्ने यो भिडियोलाई युएनडिपीले तयार पारेको हो। जसमा अमेरिकी अभिनेता, कमेडियन, संगीतकर्मी ज्याक ब्ल्याकको आवाज रहेको छ ।

कोप-२६ का तयार गरेर सार्वजनिक गरिएको साढे दुई मिनेटको भिडियोलाई युएनडिपी नेपाल नियोगले पनि नेपाली संस्करणमा सार्वजनिक गरेको छ । सार्वजनिक नेपाली संस्करणमा पृथ्वीबाट लोप भइसकेको भीमकाय जन्तु डायनासोरको आवाज अभिनेता तथा निर्देशक नीर शाहले दिएका छन् ।

डायनासोर राष्ट्रसंघीय महासभा बैठकको मञ्चमा पुगेर त्यहाँ उभिएको एक व्यक्तिलाई ‘ठिक छ’ भनेर सोधेको दृश्यलाई भिडियोमा देखिएको छ । जैविक इन्धन प्रयोग निरूत्साहित गर्न आह्वान गरेको छ । पछिल्लो समय संसारका विभिन्न देशले जैविक इन्धनमा चार सय २३ अर्ब अमेरिकी डलर अनुदान दिइरहेका छन् । यसलाई इंगित गर्दै डायनासोरमार्फत सन्देश दिन खोजिएको छ ।

यस्तो छ सन्देश :

‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने? सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरा हो यो । हामीलाई त एउटा भन्ने बाटो छ, हाम्रो विनाशको कारण उल्कापिण्ड थियो तर तपाईंहरूको बहाना चाहिँ के ? तपाईंहरू विनाशकारी जलवायु विपत्तितिर जाँदै हुनुहुन्छ। यस्तो अवस्थामा पनि सरकारहरू खर्बौं रुपैयाँ जीवाष्मा इन्धनमाथि अनुदान दिन खर्च गरिराखेका छन् । त्यो पैसाले अरू के के गर्न सकिन्छ भन्ने सोच्नुभएको छ ? विश्वमा अहिले पनि चरम गरिबी छ । आफ्नो विनाशका लागि खर्च गर्नुभन्दा गरिबलाई सहयोग गर्नु ठूलो पुण्य कर्मजस्तो लाग्दैन तपाईंलाई? मलाई एकछिन यथार्थ बोल्न दिनुहोस् । तपाईंलाई अद्वितीय अवसर प्राप्त भएको छ । महामारीको घाउ निको पार्न र अर्थनीति पुनर्निर्माण गर्न मेरो एउटा सुझाव राम्ररी सुुन्नुहोस् । लोप हुने बाटो कदापि नरोज्नुहोस् । बहाना बनाउन छोड्नुहोस् । आफ्नो जातिलाई लोप हुनबाट जोगाउनुहोस्।’ यति भनेर अन्त्यमा त्यो डायनासोर सबैलाई ‘धन्यवाद’ दिन्छ। मन्तव्य सकिएपछि बैठक कक्ष तालीले गुञ्जिन्छ।

Leave a Comment