खेलकुद समाचार

हेटौँडा र वीरेन्द्रनगरको विजयी सुरुवात, गोकर्णेश्वर रोकियो

काठमाडौं / मेयर कप महिला राष्ट्रिय लिग छनोट खेलमा हेटौँडा र वीरेन्द्रनगरले विजयी सुरुवात गर्दा गोकर्णेश्वर भने बराबरीमा रोकिएको छ । शुक्रबार एन्फा मैदानमा भएको खेलमा जीत निकाल्दै हेटौँडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाले प्रतियोगितामा सुरुवाती खेल जित्दा गोकर्णेश्वर नगरपालिका भने पहिलो खेलमै रोकिएको छ । शुक्रबारको पहिलो खेलमा हेटौँडा उपमहानगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै तुलसीपुरले सुखद सुरुवात गरेको हो । तुलसीपुरको जीतमा ममता पुन मगर र मेनुका आले मगरले १-१ गोल गरे ।

जीतसँगै समूह ‘एफ’को तुलसीपुरले ३ अंक जोडेको छ । हेटौँडाको लगातार दोस्रो हार हो । हेटौँडा प्रतियोगिताबाट समेत बाहिरिएको छ । दिनको दोस्रो खेलमा समूह ‘जी’को पोखरा उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै वीरेन्द्रनगरले सुखद सुरुवात गरेको हो । वीरेन्द्रनगरको जीतमा सुमित्रा योन्जनले २ गोल गरिन् । यस्तै, सम्झना शर्मा र सुस्मिता तामाङले १-१ गोल गरे । पोखराकी झरना चाम्लिङ राईले १ गोल फर्काइन् ।

जीतसँगै समूह ‘जी’मा वीरेन्द्रनगरले ३ अंक जोडेको छ र नकआउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ । लगातार दोस्रो हार बेहोरेको पोखरा भने बाहिरिएको छ । यस्तै, दिनको अन्तिम तथा तेस्रो खेलमा गोकर्णेश्वर नगरपालिका र धनगढी उपमहानगरपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोकर्णेश्वरकी शेरचन तामाङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर, चन्द्रा भण्डारीले दोस्रो हाफमा गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याएकी हुन् ।

बराबरीसँगै समूह ‘एच’बाट गोकर्णेश्वरले एक खेलमा १ अंक जोडेको छ । धनगढीले दुई खेलमा ४ अंक जोडेको छ । यस समूहबाट गोकर्णेश्वर र धनगढीलाई दोस्रो चरणको मौका रहेको छ । अलखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी प्रतियोगितामा ३१ टोलीको सहभागिता रहेको छ । टोलीहरूलाई १० समूहमा विभाजन गर्दा प्रत्येक समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

हालसम्म समूह ‘ए’बाट झापाको कनकाई नगरपालिका, समूह ‘बी’बाट ललितपुर महानगरपालिका, समूह ‘सी’बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । उपमेयर कपको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् । राष्ट्रिय लिगमा मेयर कपबाट छनोट भएका दुई क्लब र बाँकी छ क्लब गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Comment