खेलकुद समाचार

लक्ष्मीमार्गमा चौथो अन्तर्राष्ट्रिय बेलबारी गोल्डकप प्रतियाेगिता हुने

सुन्दरहरैंचा / मोरङको बेलबारी ११ स्थित लक्ष्मीमार्गमा कात्तिक ११ देखि १७ गते सम्म चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले बेलबारीमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर सञ्चालन हुन लागेको प्रतियोगिताका बारेमा जानकारी गराएकाे हाे ।

लक्ष्मीमार्ग स्थित लक्ष्मी मा.वि. खेल मैदानमा गोल्डकप प्रतियाेगिता आयोजना गर्न लागिएकाे साथै प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने आयाेजक क्लबका अध्यक्ष बिक्रम वान्तवा राईले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल काठमाडौं, हिमालयन क्लब , च्यासल युथ क्लब काठमाडौ , आयोजक डाँगीहाट युथ क्लब मोरङ, रोलीङ क्लब धुलाबारी झापा, गाईघाट फुटबल क्लब उदयपुर, रारा फुटबल क्लब राजारानी तथा आमुक्त परिवार वेस्ट वंगाल भारतले प्रतियोगितामा भाग लिने जानकारी दिए । माेफसलमा सर्बाधिक राशि पुरस्कार सहितकाे गाेल्डकप प्रतियाेगितालाई विगत बर्ष अनुसार निरन्तरता दिएकाे राईले उल्लेख गरे ।

फुटबल प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने व्यवस्था रहेको आयाेजक क्लबका सचिव शम्भु बस्नेतले बताए । कोरोनाको सङ्क्रमण सामान्य बन्दै गएकाले ठप्प रहेको खेल क्षेत्रलाई चलायमान बनाउन एवं खेलाडीको प्रोत्साहन तथा विगतकाे माेफसल खेल गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ गाेल्डकप आयाेजना गर्न लागिएको बस्नेत जानकारी दिए ।

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च तथा ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको फुटबल प्रतियाेगिताका आर्थिक समिति संयाेजक राजेश बस्नेतले बताएका छन् । उनले गाेल्डकप बाट नाफा भएको रकम भने खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने घोषणा क्लबले गरेको उल्लेख गरे ।

प्रतियाेगिताकाे उद्घघाटन खेल रोलीङ क्लब झापा तथा च्यासल युथ क्लब काठमाडौ बीच हुने आयाेजकले बताएको छ । प्रतियोगिता सञ्चालनका लागि तयारी तीव्र पारिएको आयाेजककाे भनाइ रहेको छ । खेलकुदकाे विकास गराै, राष्ट्र परिचानमा टेवा पु-याऊँ भन्ने नाराका साथमा प्रतियाेगिता हुने भएको हाे । बेलबारी नगरपालिकाको सहयोग, बुद्ध एयरको मुख्य प्रायोजन तथा टुबाेर्ग बियरकाे प्रायाेजनमा प्रतियोगिता हुन लागेको आयाेजकले पत्रकार सम्मेलनमा जानकारी गराएकाे छ । क्लबका अध्यक्ष विक्रम राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन भने सञ्चारकर्मी नरेन्द्र बस्नेतले गरेका थिए ।

Leave a Comment