समाचार

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । अहिले राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै नियुक्त भएका मन्त्रीलाई उनले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको सहभागी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८९औँ दिनमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

देउवा सरकारको मन्त्रिपरिषद् : २४ प्रतिशत महिला, २८ प्रतिशत जनजाति, २० प्रतिशत मधेसी, ४ प्रतिशत दलित

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो ।

देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन् । जसमा पाँच मन्त्री र एक राज्यमन्त्री छन् । माओवादी केन्द्रले पम्फा भुसाल र शशी श्रेष्ठलाई मन्त्री तथा बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाएको छ ।

कांग्रेसबाट उमा रेग्मी, जसपाबाट रेणुकुमारी यादव र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री मन्त्री भएका छन् । देउवा सरकारमा २४ प्रतिशत महिलाको सहभागिता रहेको छ ।

यस्तै, सरकारमा जनजाति समुदायबाट मन्त्री बन्नेको संख्या २८ प्रतिशत छ । आदिवासी जनजातिबाट शशी श्रेष्ठ, उमेश श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम बहादुर आले, कृष्णकुमार श्रेष्ठ र भवानीप्रसाद खापुङ मन्त्री बनेका छन् ।

यस्तै, मधेसी समुदायबाट उमाकान्त चौधरी, महिन्द्र राय यादव, रेणुकुमारी यादव, बोधमायाकुमारी यादव मन्त्री बनेका छन् । दलितबाट एकजना मात्र मन्त्री बनेका छन् । महेश्‍वरजंग गहतराज माओवादी केन्द्रबाट युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

Leave a Comment