समाचार

उपचाररत बालिकाको मृत्यु भएपछि पाँचथर अस्पताल तनावग्रस्त

पाँचथर / पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शव उठाउन अस्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कारबाहीको माग राख्दै नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

पाँचथरको फालेलुङ गाउँपालिका- ८ स्थायी ठेगाना भई फिदिम नगरपालिका- २ मा बस्दै आएकी तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको उपचारका क्रममा आज बिहान साढे ७ बजे मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन् ।

हिजो अस्पताल भर्ना भएकी बालिका आज ठिक भएपछि घर पठाउने तयारी भइरहेकै अवस्थामा आज बिहान उपचारकै क्रममा सुई लगाइएपछि अचानक बेहोस भएकी थिइन् । लगत्तै उनको मृत्यु भएको थियो । मृतक बालिकाका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गर्नाले बालिकाको ज्यान गएको आरोप लगाएका छन् ।

स्वास्थ्यकर्मीहरूले औषधिको प्रयोगपछि हुने आकस्मिक प्रतिक्रियाका कारण बालिकाको ज्यान गएको हुन सक्ने बताएका छन् । यद्यपि, यस विषयमा जिल्ला अस्पतालले आधिकारिक जानकारी गराउन बाँकी छ ।

बिहानदेखि तनावग्रस्त बनेको अस्पताल अझै शान्त हुन सकेको छैन । घटनाका सम्बन्धमा बिहानैदेखि छलफल भइरहे पनि समाधानमा पुग्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । बिहानदेखि मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै स्वास्थ्यकर्मीलाई कारबाही गर्न तथा घटनाको छानबिन गर्न माग गरिरहेका छन् ।

Leave a Comment