समाचार

कविता : “यो मान्छे”

कहिले आँसुको भेलसित
कहिले हाँसोको खेलसित
कहिले मिलन त कहिले बिछोड
गन्नै नसकिने जीवनका दृश्यहरु
मान्छेका घाम अनि छाँयाहरु
तर पनि
परिआए आत्मसात् गर्दै जिउनुपर्ने
कस्तो होला यो मान्छे ?
के होला यो मान्छे!

कथा, उपन्यास अनि रंगमञ्चको पात्र पो हो कि !
कल्पनै कल्पनाको पात्र पनि हो यो मान्छे !
अचेल अरुबाट मात्र किन परिचालित ( सञ्चालित)हुन्छ यो मान्छे !

दिन- प्रतिदिन मान्छेदेखि नै मान्छे अदृश्य , निराकार निराश बनिरहेको छ!
आखिर किन???
यही मान्छे कहिले ओठभरि मुस्कान देखाउँछ
यही मान्छे कहिले आँखाभरी आँसु देखाउँछ
अनि यही मान्छे चट्टानझैं मुटु बनाउन पनि जान्दछ
यो मान्छे सबै कुरा जान्दछ!

यही मान्छे मान्छेका लागि देवता पनि बन्दछ,
यही मान्छे मान्छेका लागि राक्षस पनि बन्दछ
आखिर यो मान्छे जे पनि जान्दछ!

बुद्ध, क्राइस्ट पनि मान्छे थिए,
राम र कृष्ण पनि मान्छे थिए
अनि हिटलर र गान्धी पनि मान्छे नै थिए।
अर्जुन, कर्ण पनि मान्छे नै थिए
दुर्योधन र युधिस्ठिर पनि मान्छे नै थिए
फरक यति थियो ती मान्छेमा
गुण अनि अबगुणको!

त्यसैले ए मान्छे हो जानी राखौ है,
तिमी हामी अजम्बरी कोही छैनौ र होइनौं पनि!
तिमी हामी जन्मेका हौ बाँचुञ्जेल यहाँ केही गर्नलाई।
त्यसैले ए मान्छे तिमी स्वार्थी नबन है!
अजम्बरी होइनौ है।

सुन्दरहरैंचा, माेरङ
स्थायी ठेगाना : काठमाडौ कुपनटाेल (हाल -अमेरिका)

Leave a Comment