समाचार

बहराइनमा नेपाली कामदारको प्रशंसा

दोहा / नेपालीको श्रम गन्तब्य रहेको बहराइनले नेपाली कामदारको प्रशंसा गरेको छ । बहराइन सरकारका परराष्ट्र सचिव डा । शेख बिन अहमद बिन अब्दुल्ला अल खालिफाले नेपाली कामदारको प्रशंसा गरेका छन् । बहराइनका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत अरुणा घिसिङसँगको शिष्टाचार भेटमा सचिव शेख अब्दुल्लाले बहराइनमा कार्यरत नेपालीको कर्तव्यनिष्ठताकाे उच्च प्रशंसा गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भेटमा सचिव शेख अब्बदुल्लाले नेपाल र बहराइनबीचको सम्बन्धलाई मित्रवत् तथा समस्या रहित रहेको बताएका थिए । आउँदा दिनमा नेपाल र बहराइनबीचको कूटनैतिक, आर्थिक, सामाजिक, पर्यटन लगायत सम्बन्ध थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ । साथै, उनले केहि दिन अघि, संयुक्त राष्ट्रसंघीय महासभामा नेपाल र बहराइन परराष्ट्र मन्त्रीहरु बीच भएको भेटवार्ताको स्मरण समेत गरेका थिए ।

कागजात विहीन नेपालीलाई कोरोना खोप लगाउन अनुरोध

बहराइनमा कागजात विहीन भई गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुले पनि कोरोना बिरुद्धको खोप लगाउन दूतावासले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै बहराइनमा कागजात विहीन भएर गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई तत्काल कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको हो ।

दूतावासले खोप लगाउन अनलाइन फारम जारी गरेको भन्दै स्वास्थ्य सुरक्षाका लागि कोहि पनि नेपाली खोप लगाउनबाट बन्चित नहोस् भनेर पुन: सूचना जारी गर्दै अनलाइन फारम भरी खोप लगाउन अनुरोध गरिएको जनाएको छ । बहराइनले सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा दूतावासले बहराइन सरकारलाई धन्यवाद दिँदै त्यहाँ रहेका सबै कानुनी तथा गैरकानुनी रुपमा बसेका नेपालीलाई ढुक्क भएर खोप लगाउन समेत दूतावासले आग्रह गरेको छ । बहराइनले आफ्ना नागरिक सरह नै नेपाली लगायत सबै आप्रवासीलाई खोप निशुल्क रुपमा उपलब्ध गराईरहेको छ।

Leave a Comment