खेलकुद समाचार

खेल जीवनको उत्तरार्द्धमा विराज महर्जनलाई नयाँ क्लब

काठमडौं / नेपाली फुटबलको सफल कप्तानी दर्जा पाउने खेलाडीको सूचीमा पर्ने गर्छन् विराज महर्जन । घरेलु फुटबल होस् या अन्तर्राष्ट्रियस्तरको फुटबलमा शालिन व्यक्तित्व विराज सधैँ सफल नै रहे । उनले अन्य खेलाडीको तुलनामा बढी नै उपलब्धी हात पारे । अन्तर्राष्ट्रिय खेलमा विराजले सन्यासको घोषणा गरिसकेका छन् । अब, विराजको एउटै लक्ष्य र योजना रहन्छ- क्लबस्तरमा बढीभन्दा बढी उपलब्धी हासिल गर्ने र आफ्नो पुरानै छविलाई प्रस्तुत गर्ने ।

अन्तर्राष्ट्रिय फुटबलबाट विदाइ लिएलगत्तै विराजले घरेलु फुटबलमा नयाँ क्लब रोजेका छन् । विराज खेल जीवनीको उत्तरार्द्धमा ‘ए’ डिभिजन क्लब च्यासल युथ पुगेका छन् । राष्ट्रिय टोलीबाट विदाइ लिएका विराजको योजना नयाँ क्लबमा रहेको छ । उत्तरार्द्धकै कुरा गर्दा विराज पहिलो पटक ललितपुरको च्यासल पुगेका हुन् ।

च्यासल आफैँमा ठुलो इतिहास बोकेको क्लब पनि हैन । तर, पछिल्लो समय फुटबलमा च्यासलले गरेको लगानी र फुटबलकाे विकाससँगै खेलाडीलाई देखाएको आशाले विराज च्यासलसँग प्रभावित भए । खेलाडीले आफू अनुकुल पाउने सबै सुविधा पाएपछि विराजले खेल जीवनीको उत्तरार्द्धमा नयाँ क्लब रोजे । जहाँ विराजले नयाँ टिमसँग काम गर्नुपर्ने हुन्छ । क्लब कार्यसमिति, नयाँ खेलाडीसँग अब विराजले नयाँ सम्बन्ध बनाउनु पर्छ ।

राईट ब्याक विराजको बाल्यकाल र उनको खेल जीवनीको सुरुवात सम्झने हो भने उनी एन्फा एकेडेमीको तेस्रो ब्याजका खेलाडी हुन् । विराज एन्फा एकेडेमीमा दोस्रो ब्याजको रूपमा पुगेका थिए । तर, अन्य खेलाडीसँग खेल्दा उनी तेस्रो ब्याजसँग खेल्नुपर्ने भयो । विराजले उमेर समूहमा नेपालले सहभागिता जनाएको सबै प्रतियोगिता खेले ।

एन्फा एकेडेमीपछि विराजले व्यावसायिक रूपमा २०६३ सालमा संकटाबाट आफ्नो फुटबल यात्रा सुरु गरे । जहाँ विराजले एक वर्ष खेले । विराजको खेलबाट प्रभावित न्यूरोड टिम एन आर टीले उनलाई क्लबमा भित्र्यायो । एनआरटीमा तीन वर्ष खेलेपछि विराज थ्रीस्टार लागे । लिगका लागि थ्रीस्टारले आफ्नो मुख्य खेलाडीको रूपमा विराजलाई भित्र्याएको थियो । २०६७ सालमा थ्रीस्टार पुगेका विराजले २०६९ सालमा ए डिभिजन लिग जिते । विराजले आफ्नो व्यावसायिक फुटबल यात्रामा पहिलो पटक शीर्ष डिभिजनको लिग उपाधि हात पारेका थिए ।

थ्रीस्टारमा विराजको प्रभाव देखेर मनाङ मर्स्याङ्दी क्लबले २०७१ सालमा क्लबमा भित्र्यायो । नेपाली फुटबलको सफल क्लबको रुपमा स्थापित भइसकेको मनाङबाट विराजले लिगको उपाधि नै जिते । आधा दशक मनाङमा रहँदा २०७५ सालको विना रेलिगेशन लिगको उपाधि मनाङले विराजकै कप्तानीमा पायो । यो उपाधि मनाङको कीर्तिमानी आठौं पटकको हो । यसपछि विराज मछिन्द्र लागे । मछिन्द्रमा आएको पहिलो वर्षमै विराजले आफ्नै कप्तानीमा ए डिभिजन लिग उपाधि हात पारे । विराज तीन क्लबबाट ए डिभिजन लिग उपाधि जित्ने खेलाडीमा गनिन्छन् । कप्तानीको रूपमा गनिने हो भने विराज औँलामै गनिने गर्छन् ।

राष्ट्रिय फुटबल टोलीका कप्तानी रहँदा विराजले बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप र १२ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि हात पारे । अन्तिम खेल र अन्तिम उपाधिको रूपमा विराजलाई घरेलु मैदानमा आयोजना भएको थ्री नेसन्स कप रह्यो । यता, घरेलु लिगमा विराजले तीन फरक क्लब(थ्रीस्टार, मनाङ, मछिन्द्र)बाट लिगको उपाधि हात पारे । मोफसलको उपाधि भने गनेर साध्य नै छैन । यसर्थ, विराज नेपाली फुटबलले पाएको एक सफल कप्तान हुन्‌भन्दा गलत हुँदैन।

उनै विराज खेल जीवनको उत्तरार्द्धमा पहिलो पटक नयाँ क्लब च्यासल युथ पुगेका छन् । जहाँ उनलाई खेल्न निकै चुनौती हुनेछ । साथै आफूलाई प्रमाणित गरेर देखाउने अवसरसमेत रहेको छ । किन विराज खेल जिवनीकै उत्तरार्द्ध नयाँ क्लब रोज्दैछन् ? यो फुटबल प्रेमीको लागि एउटा प्रश्न रहन्छ नै । ‘मछिन्द्रसँग मेरो त्यस्तो केहि भएको छैन । हामी खेलाडीले सधै क्लबसँग एक वर्षको सम्झौता गर्दै आएका छौँ । अघिल्लो साल म मनाङबाट मछिन्द्र आएको हो । अब च्यासल पुगेको छु । मेरो केही माग थियो । त्यो पूरा नभएपछि म च्यासल आएको हो’, न्युज कारखानासँग विराज भन्छन् ।

खासमा विराज पछिल्लो समय च्यासल युथ क्लबले घरेलु फुटबलमा देखाएको योजना र लगानीबाट प्रभावित भए । जसका कारण च्यासल पुगे । ‘च्यासलमा खेल्ने वातावरण रहेको छ । मैदान नै छ । त्यहाँ खेल्ने वातावरण मैले देखेपछि आएको हुँ । मलाई सुविधा पनि रहेको छ’, उनले भने । यता, विराजलाई नयाँ क्लबमा चुनौतीसमेत छ । राष्ट्रिय खेलाडी तथा चलेका युवा खेलाडीले क्लबको साथ छाडेका छन् । यस्तो अवस्थामा विराजले युवा खेलाडीसँग भिजेर खेल्नुपर्ने हुन्छ ।

‘फुटबल भनेको सामूहिक खेल हो । यहाँ एक खेलाडीले राम्रो गरेर सफलता हासिल गर्छु भन्नु मुर्खता हो । एकले अर्कालाई हातेमालो गरेर काम गर्याै भने पक्कै सफल हुन्छौं । मेहनत गर्ने हो । क्लबले जसरी मेहनत गरेको छ । त्यसमा हामीले साथ दिनेहो’, विराज भन्छन् । ‘च्यासलले खेलाडीको विषयमा धेरै कुरा भोगेको छ । च्यासलले आशा गरेको राष्ट्रिय खेलाडीबाट नै प्रदर्शन नआएपछि क्लब मारमा परेको हो । यसपटक राष्ट्रिय टोलीबाट खेलेका खेलाडी धेरै नहोलान्, तर देश तथा विदेशमा रहेर खेलेका खेलाडी छन् । क्लबले हरेक पोजिसनमा हेरेर टिम बनाएको छ । मेहनत गर्ने हो, मेहनत गरेर नै क्लबलाई राम्रो अवस्थामा लैजान्छौं’, ३१ वर्षीय विराजले न्युज कारखानासँग भने ।

अब, विराजले आधा दशकदेखि सँगै खेलिरहेको खेलाडीको साथ छाडेका छन् । राष्ट्रिय टोली होस् या क्लबस्तरमा आधा दर्जन खेलाडी कुनै न कुनै अवस्थामा विराज वरपर नै घुमे । अब भने त्यो रहने । यस कुरामा विराज पनि सहमत छन् ।’मैले पनि पछाडि फर्केर हेरेँ । सधै आफूले चाहेर र सोचेको पाइँदैन । पहिला राम्रो थियो । म जहाँ गए पनि राष्ट्रिय खेलाडीको बाहुल्यता रहन्थ्यो । हरेक समय सेट टिम रहन्थ्यो । आफ्नै सेट हुँदा कसैले कसैलाई सम्झाउन बुझाउँन पर्दैन थियो’, उनी भन्छन्, ‘मैले आफैँले पनि च्यालेन्ज लिएको हो । एक पटक आफूले पनि केही गरौँन, सधैँ साथीहरूको सहयोगले कति हुन्छ भन्ने पनि रह्यो । आफूले पनि नेतृत्व कतिसम्म गर्न सकिन्छ । एउटा नयाँ भाइ (खेलाडी) हरूलाई साथमा लिएर कहाँसम्म पुग्न सकिन्छ भन्ने मेरो मनमा पनि छ । त्यसै कारण पनि नयाँ क्लब पुगे ।’

अब, विराज खेल जीवनको उत्तरार्द्धमा क्लबस्तरमा समेत प्रभाव छाड्दै बिदाई लिने योजनामा छन् । जहाँ विराजको योजना च्यासलसँग मेल खान्छ । ‘हाम्रो फुटबल जीवन सधैँ एकनाशको हुँदैन । जसरी मैले राष्ट्रिय टोलीबाट राम्रो भव्य सम्मान पाए । मेरो टार्गेट भनेको क्लबस्तरमा अझै १/२ वर्ष राम्रो प्रदर्शन दिएर आफ्नो कर्तव्य पूरा गर्छु । मेरो लक्ष्य भनेको क्लबस्तरमा राम्रो विदाइ लिने सोच बनाएको छु । यो विचार क्लबसँग मिलेकाले पनि यहाँ आएको हुँ’, विराजले भने ।

Leave a Comment