समाचार

कठिन ब्रतमध्येको एक ‘जितिया पर्व’, जितबाहन किन पुजिन्छ ?

काठमाडौं / आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिला निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन् । विशेषगरी नेपालको तराई क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ । भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परम्परा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ । यस पर्वलाई जिउतिया, जितिया, जीवित्पुत्रिका, जिमुतवाहन नामले पनि चिनिन्छ । नेपालमा मात्र नभई यो पर्व भारतमा समेत निकै धुमधामका साथ मनाइने गरिन्छ ।

विशेषगरी बिवाहित महिलाले यो व्रत बस्ने परम्परा भए पनि अहिले अबिवाहित महिलाले पनि ब्रत बस्ने गरेका छन् । महिला आफ्ना सन्तानको लामो आयुका लागि ब्रत बस्छन् ।

जितियाका तीन दिन

तीन दिनसम्म चल्ने यस ब्रतलाई कठिन ब्र्रतको रूपमा लिइन्छ । तीन दिनसम्म चल्ने यस पर्वमा सप्तमीको दिन नहाए खाए, अष्टमीको दिन नीर्जला व्रत र नवमीका दिन ब्रत खोल्ने अर्थात् पारण गरिन्छ । सप्तमी अर्थात् नहाए खाएका दिन ब्रतालु बिहान नदीमा स्नान गरेर एक छाक सात्विक भोजन गर्छन् । सूर्यास्तपछि भने केही पनि खाँदैनन् । रातको समयमा घरको चारै दिशामा केही खानेकुरा राख्ने चलन पनि छ ।

ब्रतको दोस्रो दिन ब्रतालुहरू पवित्र सरोवरमा स्नान गरी जिमुतवाहनको कथा सुन्ने गर्छन् । ब्रतको फलबारे जानकार र प्रौढ महिलाले व्रतालुलाई कथा सुनाउँछन् । कथा सुन्नका लागि ब्रतालु नदी, पोखरीमा भेला हुन्छन् । यस दिन सबै व्रतालु निर्जला अर्थात् पानी पनि नपिई बस्छन् । ब्रतको तेस्रो दिन ब्रत खोल्ने अर्थात् पारण गरिन्छ । यस दिन ब्रतलाई समापन गरी दान, दक्षिणा गर्ने गरिन्छ ।

जितियाको पौराणिक आधार

पौराणिक मान्यताअनुसार यस व्रतको महत्त्व द्वापर युगसँग जोडिएको पाइन्छ । महाभारतका अनुसार अभिमन्युका पुत्र, पाण्डव कुलको वंशको रूपमा उत्तराको गर्भमा रहेका पुत्रलाई अश्वत्थामाको ब्रह्मास्त्र प्रहारबाट भगवान् कृष्णले रक्षा गरेका थिए ।

यसैको आधारमा आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन महिलाहरू आफ्ना पुत्रको रक्षा र लामो आयुका लागि निर्जला व्रत बस्ने गर्छन् । यस दिन व्रत बस्नाले कृष्ण भगवान्ले सन्तानहरूको रक्षा गर्ने जनविश्वास रहिआएको छ ।

जितियामा पुजिने जितबाहन

जितियामा जसको व्रत बसिन्छ, उसलाई भगवान् जितबाहन भनिन्छ । भगवान् जितबाहन बिनाबाबु र बिनानाम आमासँगै रहेको अवस्थामा आफ्ना बाबु भगवान् भएको थाहा पाएर आफ्ना बाबुको पहिचानका लागि घरबाट निस्कन्छन् ।

बाबुको पहिचान गर्न उनले आकाशसम्मको यात्रा गरेको वर्णन पाइन्छ । आकाशमा गएर आफ्ना बाबुको पहिचान गरी बाबुबाट ‘जितबाहन’ नाम पाएका थिए । साथै, ‘सबैले तिम्रो पुजा गर्नेछन्’ भनेर उनका बाबुबाट आशीर्वादसमेत पाएका थिए । यसकै आधारमा भगवान् जितबहानको पूजाआजा गरेर जितिया पर्व मनाइन्छ ।

जितिया व्रतको कथा

नर्मदा नदीको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज गर्थे । खोलाको पश्चिमी किनारमा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रूख थियो, जसमा पोथी चिल बस्थी भने रूखमुनि पोथी स्याल बस्थी । एक दिन जंगलका अरूलेजस्तै उनीहरूले पनि भगवान् जीतबाहन गोँसाईको निर्जला व्रत बस्ने निर्णय गरे । तर, सोही दिन उनीहरू बस्ने मरुभूमिको छेउमा रहेको शहरको धनी व्यापारीको मरेको छोरालाई ल्याएर त्यसै ठाउँमा गाडिदिन्छ ।

चिलले अरूले जस्तै व्रत कायम राखे पनि पोथी स्यालले भने व्रतलाई कायम राख्न सकिन र गाडेको लासको मासु खाएर व्रत भंग गरी । अर्को जन्ममा चिल र स्याल एउटै घरमा ब्राह्मण परिवारमा दिदी–बहिनी भएर जन्मिन्छन् । शिलवती नामकी ब्राह्मण कन्याको रूपमा चिलले जन्म लिन्छे भने कपुरवतीको रूपमा स्यालले जन्म लिन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको राजा मलायकेतुसँग विवाह हुन्छ । शिलवतीका सात जना सुन्दर पुत्र हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु हुन्छ ।

शिलवतीका छोराहरूले राजा मलायाकेतुकोमा काम गर्न थाल्छन् । ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि स्यालबाट शिलवती बनेकी बहिनी कपुरवती रिसले चुर हुन्छिन् । राजालाई भनेर ती सातै जना शिलवतीका पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदीकोमा पठाउने षड्यन्त्र गर्छिन् । तर, यो कुरा भगवान् जीतबहान गोँसाईले थाहा पाएपछि सातै जना छोरालाई बचाउँछन् ।

ती सात जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिदिन्छन् । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ । हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्युले रुवाबासी भइरहेको होला भन्ने अनुमान गरी एक सेविकालाई बुझ्न पठाउँछिन् । तर, शिलवतीको घरमा हर्ष, उल्लास र खुसियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवान्को कृपा छ भन्ने सोच्छन् ।

दिदीको खुसी सहन नसकेर अब कपुरवती दिदीको घर पुग्छिन् र सम्पूर्ण कुरा भन्छिन् । यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जतिबेला उनले चिलको रूपमा भए पनि भगवान् जीतबाहनको व्रत बसेकी थिइन् । शिलावतीले पूर्वजन्मको घटना कपुरवतीलाई सुनाउँदै व्रत भंग गरेका कारण छोरा जीवित नरहेको जानकारी गराइन् । यसै बेलादेखि श्रद्धापूर्वक आमाहरूले छोराछोरीको रक्षाका लागि जितिया पर्वमा व्रतको परंपरा थालेको मान्यता रहिआएको छ ।

Leave a Comment