समाचार

बुद्ध एयरका एक यात्रु भन्छन्ः बाँचियो भने भेटौला भन्दै परिवारलाई म्यासेज पठाएँ

विराटनगर / सोमबार विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको विमान काठमाडौंमा फर्काएर फोर्स ल्यान्डिङ गरियो। सो विमान सकुशल अवतरण भएसँगै त्यसमा सवार ७३ यात्रु र चालकदलका सदस्यहरुको ज्यान जोगिएको छ। ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज अवतरण हुन सकेको थिएन। त्यसपछि उक्त ७३ यात्रु सवार जहाज पुनः काठमाडौं नै फर्किएको थियो। काठमाडौं फर्किँदासम्म पनि विमानको समस्यामा सुधार नआएपछि विमान काठमाडौंकै आकाशमा घुमिरहेको थियो।

सोही विमानमा सवार प्रताप लिम्बु यसरी आफ्नो अनुभव सुनाउँछन्ः बिहान बुद्ध एयरमा विराटनगरर्फ उडेका थियौं। विराटनगर पुगेपछि पनि विमान अवतरण हुन नसकेपछि किन विमान ल्यान्ड भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनेर उत्तर दिइएको थियो।

त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६–७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं नै विमान फर्कियो। विराटनगरबाट काठमाडौं आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ। राम्रै हुन्छ होला भन्ने भयो।

काठमाडौं आएपछि पनि ८–९ पटकसम्म आकाशमै विमान घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो। त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं। अब जिन्दगी यति नै रहने भयो, अब दुर्घटना हुन्छ भन्ने नै भयो। हामीले ढोका खोल्दिनुस, हामी हाम फाल्छौं पनि भन्यौं।

एयर होस्टेसहरुले केही हुँदैन भनेर सम्झाउनु भयो। इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो र आगो लाग्दैन भनेर हामीलाई राम्रो सुझाव दिइरहनु भयो। तर उहाँहरुको आँखामा पनि आँशु देखिएको थियो।

मैले घर परिवारलाई ‘यो म्यासेज मेरो अन्तिम हुनसक्छ, बाँचियो भने भेटौंला नभए सकिगयो’ भनेर सन्देश पठाए। पाइलट राम्रो हुनुहुँदो रहेछ। उहाँले अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो। नभन्दै सुरक्षित अवतरण भयो। जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए। कतिपय त बेहोस नै भए। जति दह्रो मन भएपनि मान्छे कराएको देख्दा मृत्युदेखि डर लाग्नेरैछ। हामी बाँच्यौं। पाइलटलाई धन्यवाद।

Leave a Comment