समाचार

प्रदेश १ पर्यटनमा पनि १ नम्बर

धनकुटा / सोमबार विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइदै छ। कोरोना महामारीबाट तंग्रीदै गरेको पर्यटन व्यवसाय यो दिवसले केही राहत दिने पर्यटन व्यवसायीको अपेक्षा पनि छ। नेपालमा औपचारिक रुपमा पर्यटन व्यवसाय सुरु भएको लगभग सात दशक भएको छ। लामो इतिहास बन्दासम्म पनि नेपालमा वार्षिक ११-१२ लाख विदेशी पर्यटक भित्रिँदैमा नेपालीले गर्व गर्नुपर्ने अवस्था छ।

अझ कोरोना महामारीका कारण थला परेकाे पर्यटन व्यवसायले यो तथ्यांक अनुमान गर्दा पनि निकै हर्षित हुनुपर्ने अवस्था छ। विश्वमा पर्यटकीय हिसाबले नेपाललाई अब्बल मानिन्छ।

आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये नेपालमा आठ वटा रहेका छन्। तीमध्ये प्रदेश १ मा पाँच वटा पर्छन् । प्रदेश १ मा रहेका आठ हजार मिटरमाथिका पाँच वटा हिमालमध्ये विश्वकै अग्लो सगरमाथा, विश्वकै तेस्रो अग्लो कञ्चनजंघा, चौंथो अग्लो ल्होत्से, पाँचौं मकालु र छैटौं अग्लो चोओ यु रहेका छन्।

तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रका १४ जिल्ला रहेको प्रदेश १ नेपालकै होचो ठाउँ केचनाकल, विश्वकै गहिरो उपत्यका अरुण उपत्यका, नेपालमा फूल फुल्ने ३२ प्रकारका लालीगुराँसमध्मे २८ प्रकारका लालीगुराँस पाइने तीनजुरे–मिल्के–जलजले (टिएमजे), नेपालकै अग्लो झरना ह्यात्रुङ, साल्पापोखरी, सभापोखरी, मुक्कुमलुङ युमा (पाथीभरा देवी), अन्तुडाँडा, भेडेटार, रत्नाङ्गे डाँडा, पिकेडाँडा लगायत सयौँ प्राकृतिक तथा सांस्कृतिक एवम जातीय, भाषिक, धार्मिक विविधताले भरिपूर्ण छ।

हरेक जिल्ला पर्यटकीय

प्रदेश १ का १४ वटै जिल्ला पर्यटकीय आकर्षकका केन्द्र छन् । समुद्री सतहबाट ६८ मिटरको केचनाकवल (झापा) देखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सम्म यही प्रदेशमा पर्छन् । प्राकृतिक र जैविक विविधताले धनी यो प्रदेशमा विश्वचर्चित प्राकृतिक तथा धार्मिक सम्पदा छन्।

धनकुटा

तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको धनकुटा भेडेटार, नाम्जे गाउँ र नमस्ते झरनाका कारण चर्चित छ। सुनसरीसँग सीमा जोडिएको धनकुटास्थित भेडेटार १४ सय मिटर अग्लो पहाडको टुप्पोमा अवस्थित सुन्दर बजार हो। ०३८ सालमा बेलायती युवराजको भ्रमणपछि यसको चर्चा चुलिएको हो।

०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखेको थियो। धनकुटाको खोकु एसियाकै गुलियो सुन्तलाको रुपमा चर्चित छ। हाल एभोकार्डो फलको लागि पनि धनकुटा चर्चित छ।

डाडाँबजारमा रहेको २ सय ५० वर्ष पुरानो एसियाकै ठूलो रुख र हिलेको तोङ्बा तथा पाख्रीवास कृषि अनुसन्धान केन्द्र यहाँका अन्य चर्चित पर्यटकीय गन्तव्य हुन् । छिन्ताङको जाल्पादेवी मन्दिर, ध्वजे डाँडा, नागेश्वर महादेव मन्दिर, निशान भगवती मन्दिर, २०३६ सालको छिन्ताङ हत्याकाण्डपछि बनेको पञ्चकन्या सहिदस्मृति पार्क, मधुगंगा महादेवस्थान, राजारानी, विश्रान्ति मन्दिर आदि पर्यटकीय तथा धार्मिक स्थलहरू छन् ।

तेह्रथुम

तेह्रथुमलाई गुराँसको राजधानी भनिन्छ। नेपालकै अग्लो ह्यात्रुङ झरना (३६५ मिटर)का कारण यस जिल्लाको पहिचान स्थापित भएकाे छ । विश्वमा पाइने ४२ र नेपालमा पाइने ३२ मध्ये एउटै वनमा २८ प्रजातिका गुराँस पाइने भएकै कारण तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी भनिएको हो ।

गुराँस र ढुंगाको बगैँचा, चिचिलिङ पोखरी, वसन्तपुर, सोल्मा चियाबगानले पनि यस जिल्लालाई धनी बनाएको छ। सिंहबाहिनी भगवती मन्दिर, मेन्छ्यायेम डाँडा र सिमिनाक्सी पाथीभरा तेह्रथुमका धार्मिक सम्पदा हुन्।

ताप्लेजुङ

विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजंघा हिमाल (८५८६ मिटर) लाई शिर बनाएर उभिएको ताप्लेजुङ धार्मिक तीर्थस्थल पाथीभरा देवीको मन्दिरका कारण प्रख्यात छ । ताप्लेजुङ नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला पनि हो । तीन हजार ९४ मिटर उचाइमा अवस्थित पाथीभरा हिन्दू र बौद्ध धर्मावलम्बीको साझा थलो हो ।

कञ्चनजंघा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो । जिल्ला सदरमुकाम फुङलिङ बजार र सुकेटार क्षेत्र प्रमुख पर्यटकीय सहर हुन् । तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङको ओलाङ्चुङगोला नाकासमेत यहाँ पर्छ । यस जिल्लामा तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, दिकी छ्योलिङ गुम्बालगायत रहेका छन् ।

पाँचथर

पाँचथर किराँत धर्मका प्रवर्तक राष्ट्रिय विभूति फाल्गुनन्दको कर्मभूमिका रुपमा चर्चित छ । १९४२ सालमा इलामको चुक्चिनाम्बामा जन्मिएका फलामसिंह लिंदेन (फाल्गुनन्द) ले पाँचथरलाई कर्मभूमि बनाएर जीवनको अन्तिम घडीसम्म सांस्कृतिक अभियान चलाएका थिए ।

सदरमुकाम फिदिम, काबेली, तिम्बुपोखरी, जोरपोखरीलगायत जिल्लाका चर्चित पर्यटकीय गन्तव्य हुन् । जिल्लामा अवस्थित जोरपोखरी, सिलौती, ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबार, सुम्हात्लुङ देवस्थल, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ, सिंह सिद्ध तीर्थस्थल, स्वर्गपुरी मन्दिर, लब्रेकुटी, छालासुकुवा, गुरुङ संग्राहलय मुख्य आकर्षण हुन् ।

झापा

अत्यधिक उर्वर तथा घनाबस्ती भएको झापा ‘धान उत्पादनको भण्डार’ हो । मानव विकास सूचकांकमा समेत अग्रणी झापामा नेपालकै सबैभन्दा होचो भूभाग केचनाकवल छ । झापामा धानको उत्पादकत्व ४.८ मेट्रिक टन प्रतिहेक्टर छ । यहाँ ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

झापाको बिर्तामोड प्रदेशकै मुख्य व्यापारिक सहरमध्ये एक हो। दमक, धुलाबारी, काँकडभिट्टा जिल्लाका चर्चित व्यापारिक केन्द्र हुन् । झापामा अर्जुनधारा, कचनकवल, सतासीधाम कीचकबध, विराटपोखरी, कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढ, कृष्ण थुम्कि, जामुनखाडी सिमसार क्षेत्र आदि रहेका छन् ।

खोटाङ

हलेसी महादेवको मन्दिरसँग खोटाङको परिचय जोडिएको छ । उच्च पहाडमा भ्वाङ बनाएर विराजमान भगवान् शंकर र अन्य देवीदेवताको अवस्थितिले यहाँ पुग्ने सबैलाई रोमाञ्चित बनाउँछ । हलेसी गुफालाई अर्ध चन्द्राकार गरी घेरेर खोटाङ र ओखलढुंगाको सीमाना हुँदै बगेको दूधकोसी नदी महापुराणमा उल्लिखित कौशिकी नदी हुन् ।

दूधकोसीको पवित्र जलमा स्नान गरेर हलेसीको दर्शन गर्नाले यस लोकमा सुख, समृद्धि पाई परलोकमा मुक्तिसमेत प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । हलेसी मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशी पर्वमा विशेष पूजा गरिन्छ । हरेक सोमबार तथा साउन महिनाभर यहाँ भक्तजनको भिड लाग्छ ।

जिल्लाका अन्य मुख्य पर्यटकीय स्थलहरूमा बराहापोखरी, ट्याम्केडाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा आदी पर्छन् । यसका साथै हलेसीमलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रुपाकोट डाँडा, मझुवा गढी, ताराखसे डाँडा र सहदेउ गढी आदि स्थल पनि पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थलका रुपमा रहेका छन् ।

उदयपुर

महाभारत पर्वत शृंखलादेखि चुरे पर्वतमालासम्मको भूभाग समेटेको उदयपुर देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’ का कारण प्रख्यात छ । उद्योगले दैनिक आठ सय टन सिमेन्ट उत्पादन गर्छ । ताप्लिपोखरी, झिल्केपोखरी, सुकेपोखरी, थानापोखरीलगायत सम्पदा जिल्लाका मुख्य गन्तव्य हुन् । हर्रो, बर्रो, तेजपत्ता, रिठ्ठा, पिपला, अमला, बेल, लालगेडी, बोझो, गुर्जाे, घोडताप्रेलगायत जडीबुटी उत्पादनमा पनि जिल्ला अग्र स्थानमा छ ।

जिल्लाका मुख्य पर्यटकीय क्षेत्रहरू जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोशी टप्पु वन्यजन्तु आरक्षलगायत छन् ।

मोरङ

मोरङ पूर्वको पुरानो औद्योगिक जिल्ला हो । प्रदेशको राजधानी विराटनगरमा छ । विक्रम सम्मत् १९९३ मा स्थापना भएको नेपालकै पहिलो उद्योग विराट जुट मिल र १९९४ को जुद्ध म्याच फ्याक्ट्रीबाट जिल्लामा औद्योगिक विकासको थालनी भएको पाइन्छ । महाभारतकालीन विराट राजाको दरबार, राजारानी धिमाल पोखरी, गोविन्दपुरको सुनवर्षी पोखरीलगायत सम्पदा जिल्लाका घुम्न लायक स्थल हुन् ।

यस जिल्लामा धनपाल गढी, राजारानी पोखरी, राजा धनपाल थान, सुनवर्षी पोखरी, बागझोडा, सप्तकन्या गुफा, महादेव पार्वती गुफा, मिक्लाजुङ डाँडा, हरिश्चन्द्र गढी, हसेनी सिमसार, मण्ठपोखरी, ध्वजे डाँडा, बेतेनी ताल तथा मुख्य पर्यटकीय क्षेत्र बेतौना सिमसार क्षेत्र आदि छन् ।

ओखलढुंगा

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलोका रुपमा चर्चित छ ओखलढुंगा । मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए । उनको फौजले किराँतलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटेर खाएकाले त्यही ओखलका नामबाट यस ठाउँको नाम ओखलढुंगा रहन गएको मानिन्छ। उक्त ओखल रहेको ढुंगा परिसरमा सिद्धिचरण पार्कसमेत बनाइएको छ।

यस जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा सतासीधाम रहेको छ । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ ।

सोलुखुम्बु

विश्वको सर्वोच्च शिखर सगरमाथाकै कारण सोलुखुम्बु विश्व चर्चित छ । विश्वका साहसी, प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्ने पर्यटकका लागि सोलुखुम्बु पहिलो गन्तव्य हो । प्रदेशकै कम जनघनत्व भएको यस जिल्लामा विश्वको सबैभन्दा अग्लो उचाइदेखि ६ सय मिटर उचाइको तुइनटार भूभागसमेत पर्छ ।

महालंगुर हिमशृंखला अन्तर्गत सगरमाथासहित ल्होत्से (८५१६ मिटर), चोयु (८२०१ मिटर), ग्याचुङगाङ (७९५२ मिटर), पुमोरी (७१६१ मिटर), आमादब्लम (६८१२ मिटर), पासाङल्हामू (७३५१ मिटर)लगायत अग्ला शिखर यसै जिल्लामा छन् । सबैभन्दा धेरै (पाँचवटा) विमानस्थल यतै छन् । लुक्ला नेपालकै व्यस्त विमानस्थल मध्ये एक हो । तीन हजार चार सय ४० मिटर उचाइमा रहेको नाम्चे बजार सोलुखुम्बुको व्यस्त पर्यटकीय गन्तव्य हो । संसारकै अग्लो स्थानमा रहेको ‘होटेल एभरेष्ट भ्यु’ पनि जिल्लाको अर्को आकर्षण हो ।

मेरापिक, पिके डाँडा, रात्नाङ्गे डाँडा, नौलेख खर्क, दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, धर्मपिपक, पत्ताले डाँडा चर्चित गन्तव्यको रुपमा रहेका छन् । त्यसैगरी सिलिचो, तिलपुङ डाँडा, सुके पोखरी, गोक्यो, स्याङबोचे, पाङबोचे डाँडा, दिवुचे, दिङबोचे, लबुचे, गोरक्सेप, काला पत्थर, इम्जा ताल, ठमो, थामे, खोङमाला पास, चोला पास, रेञ्जो पास, गोक्योरी खुम्बिला, क्वाङदे, फाक्दिङ अत्यधिक पर्यटक पुग्ने स्थलमार्गहरू हुन् ।

बूढासिद्ध मन्दिर, लौरेश्वर शिव मन्दिर, गौरीटाप, टिम्बुरबोटे सहिद पार्क, सिंहकाली मन्दिर, ज्वालामाई मन्दिर, जालिम मन्दिर, पञ्चकन्या कालिकादेवीको मन्दिर, गुप्तकाली आदि थप धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रसिद्ध छन् ।

इलाम

सूर्योदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारुम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरना लगायतका थुप्रै पर्यटकीय स्थलहरू रहेका छन् ।

प्रदेशको सबैभन्दा रमणीय जिल्ला इलाम चियाखेतीका कारण चर्चित छ । अर्गानिक चिया उत्पादनमा ख्याति कमाएको यो जिल्ला प्राकृतिक रुपमा उत्तिकै सुन्दर छ । चियाखेतीले ढाकेका हरियाली डाँडाकाँडा, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखरका कारण जिल्लाको ख्याति फैलिएको छ । कन्याम जिल्लाको छुटाउनै नहुने गन्तव्य हो । इलामलाई ‘पहाडकी रानी, नगदेबालीको खानी’ भनेर चिनिन्छ । इलाम आठ ‘अ’ अर्थात् अर्थोडक्स चिया, अलैंची, अदुवा, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कारका रुपमा पनि चर्चित छन् । इलाममा करिब एक दर्जन चिया प्रशोधन कारखाना छन् ।

संखुवासभा

संखुवासभा संसारकै होचो अरुण उपत्यका (४५७ मिटर), विश्वको पाँचौँ र नेपालको चौंथो अग्लो मकालु हिमाल (८४८१ मिटर) लगायतका हिमशृंखला र रुद्राक्षको राजधानीका रुपमा प्रसिद्ध छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज र नेपालको राष्ट्रिय फुल लालीगुराँससहित धेरै गुराँस पाइने जलजले क्षेत्र पनि यो जिल्लामा पर्छ । मकालु प्रथम (८,४८१ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर) लगायत हिमशृंखला यस जिल्लाका गहना हुन् ।

चैनपुरे करुवा, सभापोखरी, गुफापोखरी, सिद्धपोखरीले पर्यटक आकर्षित गर्ने गन्तव्य हुन् । खाँदबारी, पांखा सिबुवा, स्याबुनलगायत गाउँ रुद्राक्ष खेतीका लागि प्रसिद्ध छन् । यहाँ उत्पादित रुद्राक्ष खरिद गर्न चिनियाँ व्यापारी गाउँ–गाउँ पुग्ने गर्छन् ।

यस जिल्लामा मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा छन् । मकालु बरुण राष्ट्रिय निकुञ्ज, मिल्के डाडाँ पर्यटकीय संम्भावना बोकेका क्षेत्र पनि यहाँ छन् ।

भोजपुर

कुनै समय पूरै नेपाललाई पुग्ने गरी धातुका सिक्का उत्पादन गर्ने भोजपुर अहिले खुकुरी र रुद्राक्षका लागि प्रसिद्ध छ । विक्रम सम्वत् १८७२ मा यहाँको टक्सार बजारको स्थापना धातुका सिक्का बनाउन भएको बताइन्छ । सिक्का काट्न स्थापित टक्सारबाटै खुकुरी उत्पादन थालिएको र पछि व्यावसायिक बनेपछि ‘भोजपुरे खुकुरी’ले प्रसिद्धि कमाएको इतिहास छ ।

भोजपुरको दिङ्ला, नेपालेडाँडा, सोमबारेलगायत गाउँ रुद्राक्षका लागि प्रसिद्ध छन् । साल्पा पोखरी भोजपुरको अर्को आकर्षण हो । तीन हजार ६ सय ७२ मिटर उचाइमा अवस्थित पोखरीमा वैशाख चण्डी पूर्णिमा र जनैपूर्णिमाको दिन मेला लाग्छ ।

भोजपुरलाई परिचय दिन विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गौरवका चिनो पर्याप्त छन् । प्रदेश १ को मध्यपहाडी जिल्लाको माझकिराँतमा अवस्थित यस जिल्ला जति प्रसिद्ध छ त्यति नै विकट पनि छ । यहाँको संस्कृतिमा किराँत बाहुल्य पाइन्छ । ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, षडानन्दको जन्मभूमी दिङ्ला, सिद्धकाली मन्दिर, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवागढी आदि पनि पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् ।

सुनसरी

प्रदेशमा सबैभन्दा बढी जनघनत्व भएको जिल्ला हो सुनसरी। कोसी टप्पु वन्यजन्तु आरक्ष, बराह क्षेत्र र बुढासुब्बा यस जिल्लाका मुख्य गहना हुन् । कोसीटप्पु पंक्षीका लागि सुरक्षित वासस्थान मानिन्छ । एक सय ७५ वर्ग किमिमा फैलिएको कोसीटप्पु सुनसरी, सप्तरी र उदयपुरसम्म फैलिएको छ ।

कोसीटप्पुलाई अर्ना र चराको स्वर्ग मानिन्छ । तमोर, अरुण, दूधकोसी, तामाकोसी, सुनकोसी, लिखु र इन्द्रावती मिसिएको सप्तकोसी यहाँको अर्को आकर्षण हो । सुनसरीमा प्रसिद्ध धार्मिक तीर्थस्थल वराहक्षेत्र छ । वराहक्षेत्रमा वराहविष्णुको मूल मन्दिरका साथै इन्द्रवराह, गुरूवराह, लक्ष्मी, पाञ्चायन, नागेश्वर, सूर्यवराह, कोकावराह र अन्य देवीदेवताका मन्दिर, सयौँ मूर्ति र धर्मशाला छन् ।

वराहक्षेत्र वरपर आदि वराह स्थान, सूर्यकुण्ड, चन्द्रकुण्ड, कुब्जाम्र, कोटीवट, धेनुवट, विष्णुपादुका र लोहार्गललगायत करिब तीन दर्जन उपतीर्थ छन् । यसबाहेक दन्तकाली, बुढासुब्बा, शिवजट्टा, रामधुनी, विष्णुपादुका चताराधाम पनि सुनसरीमै अवस्थित प्रसिद्ध धार्मिक स्थल हुन् । धरान, इटहरी, इनरुवालगायत सहरका कारण पनि सुनसरी चर्चित छ ।

यस जिल्लामा एभरेष्ट विज्ञान केन्द्र, चिमडी दह, ठिंगेढुंगा, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर‎, बुढासुब्बा मन्दिर, भेडेटार, रामधुनी मन्दिर, वराहक्षेत्र, विष्णुपादुका मन्दिर, शिवजट्टा, सूर्यकुण्ड, श्रीरामानुज सत्संग आश्रम आदि धार्मिक तथा पर्यटकीय स्थलहरु छन् ।

Leave a Comment