समाचार

आज विश्व पर्यटन दिवस : लुम्बिनी प्रवेशद्वारकै फाेहाेर सातादेखि उठेन

बुटवल / आज विश्व पर्यटन दिवस । भारत तथा तेस्राे मुलुकबाट पर्यटक नेपाल आइरहेका छन् । पर्यटन दिवस मनाइरहदा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा भने पर्यटकलाई फोहाेरले स्वागत गरिरहेको छ । एक सातादेखि सिद्धार्थनगरको फोहर उठ्न सकेको छैन । फोहाेर सडकमा छरिएकाे छ । सिद्धार्थनगर दुर्गन्धित बनेको छ ।

भैरहवा हुँदै लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्र जाने पर्यटक माझ सहरमा थुप्रिएको फोहोरले नकारात्मक सन्देश जाने संस्कृतिविद् गितु गिरीले बताए ।नगरपालिकामा डम्पिङ साइट नहुँदा नगरबाट फोहाेर संकलन गरेर डण्डा खोला छेउमा थुपार्ने गरिएको छ । तर, स्थानीयले नगरमा संकलित फोहाेरका लागि नगरपालिकाले योजना बनाएर अगाडि बढ्नुपर्ने र अब डण्डा खोला नजिक फोहोर फाल्न नदिने बताउँदै आएका छन् ।

सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको ओमसतिया गाउँपालिका-५ पट्खौलीमा खरिद गरेको जग्गामा पनि स्थानीयको अवरोधपछि त्यत्तिकै अलपत्र परेको छ । स्थानीय आशिष पन्तले सडकमै फोहाेर थुप्रिदा सहर दुर्गन्धित भएको बताए । उनले पटकपटक नदी किनारमा फोहोर नफाल्न माग गर्दै स्थानीयले अवरोध गरेकाले स्थानीय सरकारले यसतर्फ दीर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिए ।

प्रख्यात बन्जाडेले २०७६ चैतको लकडाउनअघि नै नगरपालिकालाई फोहाेरमैला व्यवस्थापन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइए पनि नगरपालिकाले यसतर्फ चासो दिन नसकेको बताए । प्लास्टिक पनि पूर्ण रुपमा निषेध गर्नुपर्ने उनकाे भनाइ छ । सिद्धार्थनगर-२ का वडा सदस्य दीपेशप्रताप शाहीले करिब ३० वर्षदेखि एउटै ठाउँमा ल्याएर फोहाेर थुपारिएको बताए । यस क्षेत्रमा स्वर्गद्वारीघाट समेत निर्माण भइरहेको अवस्थामा अब नदी र नदी किनारलाई स्वच्छ र सफा राख्नुपर्ने उनको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिकाका वातावरण तथा सरसफाइ शाखा प्रमुख केशव पौडेलले स्थानीयको अवरोधका कारण फोहाेर फाल्न नसकिएकाले फोहोर सडकमा थुप्रिएको बताए । उनले भने, ‘फोहोर बोक्ने गाडी जान नसकेकाले फोहोर फाल्न सकिएको छैन, स्थानीयले व्यवस्थित गर्ने कुरा गर्नुभएको छ, यसको लागि नगरपालिकाले पहल गरिरहेको छ ।’

Leave a Comment