समाचार

सीमा क्षेत्रको अनुगमन गर्दै मोरङका प्रजिअ कासीराज दाहाल

विराटनगर / मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन एवं निरीक्षण तीव्र पारेका छन् । नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई लक्षित गर्दै दाहालले भारतसँग सीमा जोडिएका स्थानको आकस्मिक अनुगमन एवं निरीक्षण थालेका हुन् । उनी नेतृत्वको टोलीले मोरङको धनपालथान, रंगेली लगायत सिमावर्ती क्षेत्रको अनुगमन गरेको छ । अनुगमनमा नेपाल र सशस्त्र प्रहरीले सहयोग गरिरहेका छन् । मोरङमा भारतसँग जोडिएको ६३.४ किलोमिटर खुला सीमा छ ।

सीमा क्षेत्रबाट हुने चोरी, तस्करी लगायतका अवैध धन्दा नियन्त्रण र नेपाल–भारत सीमाको अवस्था बुझ्नलाई सुरक्षाकर्मीको सहयोग लिँदै प्रजिअ दाहाल आफै अनुगमनमा निस्किएका हुन् । उनले सीमा अपराध, अनआवश्यक आवतजावत, चोरी तस्करी लगायत सबै खालका अवैध गतिविधी नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन पनि दिएका छन् । सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था चुस्तदुरुस्त राख्न उनले निर्देशन दिएका हुन् ।

छोटी भन्सारहरु नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजस्व तिर्नलाई सर्वसाधारणले भोग्नु परिरहेको समस्याको सम्बोधन गर्नुपर्नेमा दाहालको जोड छ । उनका अनुसार नेपाल–भारत सीमा छुट्याउने दशगजामा बनेका संरचना जतिसक्दो चाँडो हटाउन सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ । चाडपर्वका बेला बढ्नसक्ने ‘मुभमेन्ट’लाई ध्यानमा राख्दै सीमा क्षेत्रमा उचित सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको दाहालले बताए ।
उनका अनुसार आयात निर्यातलाई चुस्त बनाउन एवम् सीमा क्षेत्रमा देखिएका समस्याको समाधान गर्न भन्सार कार्यालय, नेपाल र सशस्त्र प्रहरी एवं राजनैतिक दल र सरोकारवालासँग पनि छलफल गरेर आवश्यक रणनीति बनाइने छ । सुरक्षा निकायसमेतको समन्वय एवं सक्रियतामा चाडपर्व लक्षित सुरक्षा कार्ययोजना बनाएर लागू गर्ने तयारी भइरहेको जानकारी उनले दिए ।

‘विविध विषयमा देखिएका समस्या समाधान गर्नलाई राजनैतिक दलसँग छलफल भइसकेको छ । सीमा नाकालाई व्यवस्थित बनाउन आग्रह गर्दै दलहरुबाट सहयोगको प्रतिवद्धता पनि आयो,’ दाहालले भने, ‘तस्करी एवम् अवैध धन्दा नियन्त्रण, सीमा व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना र प्रभावकारी बजार अनुगमन प्रशासनको प्राथमिकतामै छन् । उद्योगी, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी लगायतका सबै सरोकारवाला पक्षसँग समन्वय गर्दै अघि बढ्ने योजना छ ।’ उनका अनुसार चाडपर्वका बेला हुनसक्ने कालोबजारी, ठगी, मूल्यवृद्धि एवं म्याद सकिएका सामानको किनबेच नियन्त्रणमा कुनै कसर बाँकी राखिने छैन । ‘अब सयुक्त अनुगमन समिति बनाएर अनुगमन र निगरानीलाई तीव्र पारिने छ,’ उनले भने, ‘गलत गर्नेहरुलाई उन्मुक्ति नदिइकन तत्काल कारबाहीको दायरामा ल्याइने छ ।’ प्रजिअ दाहालले कोरोना महामारी कायमै रहेकाले सर्वसाधारणलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै सीमा क्षेत्रमा जनेचतनामूलक सन्देशहरु पनि प्रवाह गर्न थालिएको बताए । ‘चाडपर्वका समयमा नेपालबाट भारतीय बजारमा सामान किन्न जानेको भीड लाग्ने गरेको छ । कामका सिलसिलामा भारत पुगेकाहरु पनि चाडपर्व मनाउन घर फर्कन्छन्,’ उनले भने, ‘सीमा क्षेत्रमा अत्याधिक चहलपहल हुनसक्ने भएकाले त्यही हिसाबको सुरक्षा रणनीति बनाएर लागू गर्नुपर्ने भएको छ । कोरोना संक्रमण नियन्त्रणमा पनि प्रशासनले सक्रियता बढाएको छ ।’

सीमा नाका पूर्ण रूपमा खुला नभइसकेको अवस्थामा अव्यवस्थित आवतजावतलाई ख्याल गरेर सतर्कता अपनाइने जानकारी प्रजिअ दाहालले दिए । उनका अनुसार नेपाल–भारत आवतजावत गर्नेहरुलाई मास्क र सेनिटाइजरको प्रयोगका लागि अभिप्रेरित गर्ने काम भइरहेको छ । साथै सामाजिक दूरी र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ । दाहालले भारतबाट नेपालतिर प्रवेश गर्नेहरुको अभिलेख राख्ने काम भइरहेको बताए । ‘नेपाल प्रवेश गर्नेहरुले कोरोनाविरुद्धको खोप लगाए/नलगाएको यकिन गर्ने गरिन्छ । आवश्यक परेमा उनीहरुको एन्टिजेन परीक्षण पनि हुन्छ,’ उनले भने, ‘नेपाल छिर्नेहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै प्रवेश दिने गरिएको छ । त्यसका लागि सीमा नाकामा ‘हेल्थ डेस्क’ नै खडा गरेर आवश्यक स्वास्थ्यकर्मी लगायतका जनशक्ति परिचालन गरिएको छ ।’

चाडपर्व मनाउन भारतबाट आफ्नो देश फर्कने नेपालीहरुलाई सीमा क्षेत्रमा सास्ती नहोस् र आवतजावतका नाममा अवैध धन्दा हुन नपाओस् भनेर प्रशासन सचेत रहेको दाहालको भनाइ छ । उनका अनुसार सर्वसाधारणलाई सहज आवागमनको वातावरण मिलाउन सीमा क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Comment