समाचार

सडक सञ्जालले गुल्जार ताप्लेजुङका दुर्गम गाउँ

ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिका भगिमाया लिम्बू अहिले ७७ वर्षकी भइन् । आधा उमेर गइसकेपछिमात्र उनले गाडी देख्न पाइन् । विगतमा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म हिँडेर जान्थिन् । तर, अहिले उनको घरको आँगनबाटै दैनिक १०-१२ वटा गाडी ओहोरदोहोर गर्दछन् । उनी आफ्नो घरको आँगनमा बसेर दैनिक गुडिरहने गाडी हेर्दै विगतका दिन सम्झिरहन्छिन् ।

दैनिक खाद्यान्न सामग्री ढुवानी गर्न एक वर्षमा दुईपटक सदरमुकाम फुङ्लिङ पुग्ने फक्ताङलुङ गाउँपालिका-६ का दावा शेर्पा हिजोआज सदरमुकाम पुग्न छाडेका छन् । अहिले उनकै घर आँगनमा सडक पुगेको छ । दैनिक उपभोग्य वस्तुहरू गाडीले घर आँगनमै पुर्‍याइदिन्छ ।

गत वर्षसम्म गाडी चढ्न सिरिजंगा गाउँपालिका-६ मामांखे गाउँका स्थानीय खाम्देम्बेसम्म एकदिन पैदाल हिँडेर पुग्नुपथ्र्यो । दैनिक आवश्यक पर्ने सामग्री लिन खाम्देम्बेदेखि नै मान्छेले बोकेर ढुवानी गर्नुपर्ने बाध्यता थियो । तर, गत महिनादेखि मामांखे गाउँमा सडक पुगेको छ । पहिलोपटक मामांखे गाउँमा सडक पुक्दा स्थानीय निकै खुसी भएको सिरिजंगा गाउँपालिका–६ का वडाध्यक्ष सुखराज लिम्बूले बताए ।

सिरिजंगा गाउँपालिका केन्द्र तेल्लोक हुँदै विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजंघासम्म सडक पु¥याउने प्रदेश १ सरकारले परिकल्पना गरेको छ । त्यसैले सिनाम–सिरिजंगा गाउँपालिका केन्द्र तेल्लोक हुँदै विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजंघा सडकखण्डका लागि गत आर्थिक वर्षमा प्रदेश १ सरकारले एक करोड १० लाख बजेट विनियोजन गरेको छ । अहिले सो बजेटको काम भइरहेको वडाध्यक्ष लिम्बूले बताए ।

गत महिना सिरिजंगा गाउँपालिका-६ मामांखे गाउँमा सडक सञ्जालले जोडिएसँगै ताप्लेजुङको बसै वडामा सडक सञ्जालले जोडिएको छ । ६० वडामा अगाडि नै सडक सञ्जालले जोडिएको थियो । गत महिना मात्र सिरिजंघा गाउँपालिका-६ वडाको सिमानामा सडक प्रवेश गरेरपछि जिल्लाको सबै वडामा सडक पुगेको सिरिजंघा गाउँपालिकाका वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए ।

ताप्लेजुङमा नौ स्थानीय तहमा ६१ वडा छन् । अहिले सबै वडामा सडक सञ्जालले प्रत्यक्ष जोडिएको छ । क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो गाउँपालिका फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा चीनसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । ओलाङचुङगोलादेखि २४ किलोमिटर तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ ।

उता, सुनसरीको चतरादेखि राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर सडक चीनसँग जोडिन तीन किलोमिटर मात्र बाँकी रहेको उत्तर दक्षिण लोकमार्गको कार्यालय ताप्लेजुङका सूचना अधिकारी माधव पौडेलले बताए । मिक्वाखोला गाउँपालिका–५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सीमामा सडक प्रवेश गरेको मिक्वाखोला गाउँपालिका-५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए । वडा कार्यालयसम्म पुग्न केही समय लाग्ने भए पनि आफ्नो वडामा सडकले जोडिएको उनले बताए ।

स्थानीय सरकारले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको स्थानीयको भनाइ छ । जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दैनिकीमा सहजता आएको छ । जिल्लाको सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा गाडीका लागि टिकट काउन्टर खुलेको छ । दैनिक सदरमुकारदेखि विभिन्न गाउँगाउँमा गाडी लाग्ने गरेको छ । कच्ची बाटो भएकाले ठूलो सिटको बसहरू भने जान सकिरहेको छैन ।

आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङदेन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै विर्तामोड, दमक विराटनगर बस सेवा सञ्चालन भइइहेको छ । सिरिजंघा गाउँपालिकाको खाम्देम्बे बजारदेखि विगतदेखि नै विर्तामोड, दमक विराटनगर बस सेवा सञ्चालन भइरहेको छ । सिदिङवा गाउँपालिका केन्द्रदेखि पनि सदरमुका नआई अन्य जिल्लामा यातायात सेवा सञ्चालन भइरहेको छ ।

चालू आर्थिक वर्षमा प्रदेश १ सरकारले एक सय ७६ योजना ताप्लेजुङमा छनोटमा परेको थियो । जसमध्ये २० वटा सडक आयोजना थिए । प्रदेशकै गौरवको आयोजनअन्तर्गत ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि पाथीभरायाङवरक गाउँपालिका र सिरिजंगा गाउँपालिका हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको बेसक्याम्पसम्म पुग्ने पर्यकटकीय सडक आयोजन निर्माण कार्य भइरहेको छ । यो सडक अहिले सिरिजंगा गाउँपालिका-६ मामांखे गाउँमा निर्माणाधीन अवस्थामा छ ।

Leave a Comment