समाचार

खुला दिसामुक्त जिल्लाको दुर्दशा: सडक छेउमा शौच, अनुदानका शौचालय जीर्ण

कपिलवस्तु / खुला दिसामुक्त घोषणा हुनेमा नेपाल दक्षिण एसियाकै पहिलो देश हो । १३ असोज २०७६ मा नेपाल औपचारिक रूपले खुला दिसामुक्त घोषणा भएको थियो । हतारमा खुला दिसामुक्त घोषण भए पनि तराई-मधेसका ग्रामीण भेगका बस्तीलाई हेर्ने हो भने झारा टार्ने काम मात्र भएको छ यसबीचमा । घोषण भएको दुई वर्ष बित्दासमेत कपिलवस्तुका ग्रामीण भेगमा भे सडक छेउ तथा खेतबारीमा खुला शौच गर्ने प्रचलन अझै कायम छ ।

भारतीय सीमासँग जोडिएका पालिकामा शौचालय प्रयोगविहीन भई जीर्ण भएपछि खेतमा दिसा गर्ने प्रचलन बढेको छ यहाँ । यस जिल्लालाई ३१ भदौ २०७६ मा खुला दिसामुक्त घोषणा गरिएको थियो । २०६७ सालदेखि खुला दिसामुक्त घोषणाका लागि संचालन गरेको अभियान ११ वर्षमा पूरा भएको थियो ।जिल्लाका १० वटा पालिकामा ९१ हजार ३२१ घर धुरीमा शौचालय बनेपछि तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले जिल्ला खुला दिसामुक्त भएको घोषणा गरेका थिए ।

मधेसी समुदायमा अझै पनि खुला शौच हुने गरेको महाराजगंज नगरपालिका-४ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक सुशीलकुमार चौधरीले बताए । गाउँ मात्र होइन, नगरभरीको अवस्था यस्तै छ । ‘अभियानका क्रममा बनेका शौचालय प्रयोगविहीन भएका छन् । केही फेरि बनाउनुपर्ने अवस्थामा छन् । ग्रामीण भेगका गरिब जनतासँग शौचालय बनाउनका लागि रकमको जोहो गर्न गाह्रो परेको छ । दोस्रो पटक शौचालय निर्माणका लागि अनुदान दिँदा बेरुजु हुने समस्या छँदै छ,’ चौधरीले भने ।

अभियानका क्रममा समुदायलाई सचेत गराउनुको सट्टा जबर्जस्ती शौचालय बनाउन लगाएपछि स्थानीयले अपनत्व ग्रहण गरेका थिएनन् । अधिकांश बस्तीमा शौचालय नै छैनन् । जसले शौचालय बनाएका छन्, प्रयोग गर्न मिल्ने अवस्थाका छैनन् । भएका शौचालय ढाकेर लाज नमानी खेतमा गएर खुला शौच गर्ने गरेको महाराजगंज- १ का युवा अगुवा अभिशेखमणि यादवले बताए ।

Leave a Comment