खेलकुद समाचार

‘सुन्दरहरैंचा ब्याडमिन्टन च्याम्पियनसिप २०२१’ सम्पन्न : जनरल इन्सोरेन्स धरान तथा बेलबारी जेसिजले हात पारे उपाधि

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सलकपुरमा भएको ‘सुन्दरहरैंचा ब्याडमिन्टन च्याम्पियनसिप २०२१’ को उपाधि कर्पोरेटतर्फ जनरल इन्सोरेन्स धरानले हात पारेको छ । दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा भएको प्रतियोगितामा जनरल इन्स्योरेन्सका प्रनिस सिंह ठकुरी र सत्यम् सुब्बाले उपाधि हात पारेका छन् । कर्पोरेटतर्फ मन्जरी पेन्टस् इटहरीका आशिष जबेगु र दिनेश शंकर दोस्रो भएका छन् । पूर्वाञ्चल पाेलिमर एक्रेलिक प्रा.लि. सुन्दरहरैंचाका नवीन सिलुवाल र भोजबहादुर गुरुङ तेस्रो भए । लायन्स क्लब अफ इन्द्रपुरका खेलाडी उत्तम शिवाकोटी र फुर्टेम्बा शेर्पाको समूहले पनि तेस्रो स्थान ल्याएर पुरस्कार हात पारेका छन् ।

प्रतियोगितामा जीतसँगै कर्पोरेटतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश रु ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ सहित प्रमाणपत्र, मेडल र ट्रफी हात पारे ।

जेसीज शाखातर्फ बेलबारी जेसीजका विकास श्रेष्ठ र सुवास श्रेष्ठको जोडी पहिलो भएको छ । कमलनगर जेसीजका अविनाश राई र ज्ञानेन्द्र दाहाल दोस्रो भए । त्यसैगरी, भद्रपुर जेसीजका प्रज्वल ओझा र गुरुप्रसाद राई तेस्रो भए । टंकीसिनवारी जेसीजका सुप्रीम पन्त र सूचक खड्का पनि तेस्रो भए । शाखातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु २५ हजार, १५ हजार र ७ हजार ५ सय सहित प्रमाणपत्र र मेडल तथा ट्रफी हात पारेका छन् ।

प्रतियाेगिताकाे समापन कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ थिइन् । विशेष अतिथि सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल थिए । रिजालले खेलाडी प्रोत्साहन स्वरुप टंकीसिनवारीका १४ वर्षीय सुप्रिम पन्तलाई ५ हजार रुपैयाँ प्रदान गरेका थिए। समापन कार्यक्रममा नेपाल जेसिसका पूर्व अध्यक्ष एवम् पिएलओ लुब्रिकेन्टका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले सुन्दरहरैंचा ४ का खेलाडी भोजबहादुर गुरुङलाई ५ हजार रुपैयाँ खेलाडी प्रोत्साहन स्वरुप प्रदान गरेका थिए ।

इन्द्रपुर जेसीजको आयोजनामा दुई दिनसम्म चलेको प्रतियोगितामा ५० टिमको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजक पिएलओ लुब्रिकेन्ट रहेको थियो । इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मिलन अधिकारीले गरेका थिए। सुविधा सम्पन्न तथा प्रदेश १ मै आकर्षक रुपमा निर्माण भएको दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा विगत बर्षमा पनि राष्ट्रिय स्तरकाे ब्याडमिन्टन प्रतियाेगिता सम्पन्न भएको थियाे ।

Leave a Comment