समाचार

इटहरीमा यसरी गरियाे संखुवासभाका ६ जनाको सामूहिक दाहसंस्कार (तस्विरहरू सहित)

इटहरी / संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका मृतकहरुको इटहरीमा अन्त्यष्टि गरिएको छ । तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट आएपछि सामूहिक दाहसंस्कार गरिएकाे हाे । बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा ६ जनाकाे अन्त्यष्टि गरिएको हो । ६ वटै शवकाे धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीगंगामा अन्त्यष्टि गरिएकाे छ ।

तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीको एउटै चितामा राखेर अन्त्येष्टि गरिएको छ । तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की नाति ११ वर्षीय दीपेन कार्की नातिनी सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको थियो भने तेजबहादुरकी आमा पार्वती कार्कीलाई छुट्टै चितामा राखिएको थियो ।

संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सोमबार एकै परिवारका छ जनाको बिभत्स हत्या भएको थियो । सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो । घटनाकाे अनुसन्धान संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेकाे छ ।

Leave a Comment