खेलकुद समाचार

अन्तराष्ट्रियस्तरको भोजपुर रंगशाला निर्माण अन्तिम चरणमा, माघसम्म सक्ने लक्ष्य

भोजपुर / प्रदेश– १ सरकारको प्राथामिकतामा रहेको अन्तराष्ट्रियस्तरको भोजपुर रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रु.१४ करोड पाँच लाखमा २०७६ मंसिर महिनाबाट तिव्रगतिमा रंगशाला बनिरहेको छ । पाँच हजार मानिस अट्न सक्ने क्षमताको रंगशाला निर्माणले भोजपुरबासीमा उत्साह थपिएको छ । २०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ ।

मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने‘ यो काम समय अघि नै सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको छ । तर यसको नक्सा तथा डिजाइनमा शहरी विकास कार्यालयले कमजोरी गरेका कारण काममा केहि समस्या भइरहेको छ । त्यो नक्सालाई समयमा नै पुन: डिजाइन गरेर दिएमा आगामी माघ महिना भित्रमा सकेर जिम्मा लगाउने मेरो उद्धेश्य छ ।’हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउने लगाएत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगाएतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेलमैदानमा दुवो लगाउने काम पनि भईरहेको छ । करिब २५ रोपनी क्षेत्रमा निर्माण भईरहेको सात हजार वर्गमिटरको रंगशालामा ५ हजार मानिस अट्न सक्ने गरी ६ ओटा प्याराफिड निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ ।

तर खेलको क्षेत्रमा यति धेरै योगदान पुर्‍याउने भोजपुरमा खेलको विकासका लागि विगतका दिनहरुमा दिर्घकालिन योजनाका साथ काम नहँुँदा खेलाडीले भने समस्या झेल्दै आएका छन् । देश संघिय प्रणालीमा गएपछि भने यहाँ खेल क्षेत्रको विकासका लागि कामको थालनी भएको देखिन्छ । जिल्लाका नौ ओटा नै स्थानीय तहहरुले खेल क्षेत्रको विकासका लागि लगानी गरिरहेका छन् । भोजपुर जिल्लामा कुनै ठुलो खेलको आयोजना गर्दा विद्यमान अवस्थामा पनि खेल मैदानको अभाव नै छ । यहाँको समस्यालाई ध्यानमा राख्दै भोजपुर रंगशालाको निर्माण शुरु भएपछि खेलाडी तथा खेलप्रेमीहरुमा उत्साह थपिएको छ । जिल्लामा ढिलै भएपनि अन्तराष्ट्रियस्तरको रंगशाला निर्माण अन्तिम चरणमा पुगेसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने देखिएको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीहरुमा उत्साहको रंग भरेको छ । मापदण्ड अनुसारका खेलमैदान नहुँदा सोचेजस्तोरुपमा खेलाडीको बृद्धि विकास हुन सकिरहेको छैन् ।
भोजपुरको फुटबल क्षेत्रमा टेवा पुर्‍याउने लक्ष्यले २०६४ सालमा तत्कालिन पहिलो जिल्ला विकास समिति बोर्डले रु.५५ लाख मूल्यमा जिल्ला खेलकुद परिषद मार्फत रंगशालाको जग्गा खरिद गरिएको थियो ।तत्कालिन जिविसबाट छुट्टाईएको केही रकमबाट रंगशालाको स्तरोन्नती गर्ने काम थालिएपनि बजेट अभावमा अगाडी बढ्न सकेको थिएन । अन्योलमा रहेको काम रंगशाला निर्माणको कामलाई पूर्णता दिन तत्कालिन मुख्यमन्त्री शेरधन राईले यसको निर्माण चासोका साथ काम अगाडी बढाएका थिए।

सात हजार वर्ग मिटरको रङ्गशालामा ५ हजार मानिस अट्न सक्ने गरी ७ ओटा प्याराफिड निर्माण हुने सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कुल २५ रोपनी क्षेक्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटरको चौडाई, उत्तरतर्फ ५५ मिटरको चौडाई, पूर्वतर्फ एक सय दुई मिटरको लम्बाई र पश्चिमतर्फ १०५ मिटरको लम्बाईमा मैदान सम्याईएको छ ।हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउने लगायत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेलमैदानमा दुवो लगाउने काम पनि भइरहेको छ । वर्षौदेखि बजेट अभाव झेल्दै आएको रंगशाला झण्डै १२ वर्षमा ४० लाख बराबर लागतमा रंगशालाको केहि प्रतिशत स्तरोन्नती भएको थियो । स्थानीय सरकार आएपछि भोजपुर नगरपालिकाले वडा अन्र्तगत स्तरोन्नतीमा केहि रकम छुट्याउदै आएको छ । प्रदेश १ कै उत्कृष्ट रंगशालाको रुपमा भोजपुर रंगशाला बन्ने भएपछि सिंगो जिल्लाका लागि नै खेलाडी उत्पादनका लागि उर्वर भुमि बन्ने भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले बताए । थोरै बजेटले पर्याप्त नभएपछि वेवारिसे जस्तै बन्दै आएको रंगशालाको स्वरुपले जिल्लाकै प्रतिष्ठा बोक्ने किसीमको रंगशाला हुनेमा भोजपुरबासी विश्वस्त रहेको उनले बताए ।

भोजपुर जिल्ला फुटबल संघले आधिकारिक रुपमा सम्बन्धित निकायसामु पहल गरेपनि रंगशाला निर्माणका लागि आवश्यक बजेटको माहोल बन्न सकेको थिएन । जिल्ला फुटबल संघले पटकपटक रंगशालाका लागि सरोकारवाला निकायदेखि मन्त्रालयसम्म बजेटका लागि ताकेता गर्दै आएको थियो । प्रदेश सरकार बनेपछि ठुला आयोजना अन्र्तगत प्रदेश सरकारले नमुना रंगशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको संघका कोषाध्यक्ष विनम श्रेष्ठले बताए ।उनले भने‘वर्षौपछि रंगशालाको नयाँ रुप लिने सपना पुरा हुने भएको छ । स्तरोन्नतीका लागि पर्याप्त बजेट र उपकरण सामाग्री पनि पर्याप्त हुने भएको छ । यो भन्दा अगाडीका समयमा विविध प्राविधिक कारणबस बजेटको माहोल सिर्जना हुन सकेको थिएन ।’कामलाई गुणस्तरीय बनाउनका लागि इन्जिनियरहरूले नियमित रूपमा अनुगमन तथा चेक जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्ड अनुसारको रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर रजनिस कुमार झाले बताए ।

विश्व अल्ट्रा धावक मिरा राईको सम्मानमा निर्माण भईरहेको अन्तराष्ट्रियस्तरको ‘मिरा राई रंगशाला’ निर्माणको काम पनि त्रिवगतिमा भईरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । भोजपुर रंगशालासंगै पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा निर्माणाधिन अन्तराष्ट्रियस्तरको ‘मिरा राई रंगशाला’ को काम पनि तीव्रगतिमा भईरहेको छ । गाउँपालिकाको क्रमागत बजेट अन्र्तगत रु.५५ लाख र प्रदेश १ सरकारको रु.एक करोड ३५ लाख गरि झण्डै दुई करोडको लागतमा सो रंगशाला निर्माण भईरहेको छ । यस्तै प्रदेश सरकारकै क्रमागत योजना अन्र्तगतकै रु. ६ करोड लागतमा षडानन्द नगरपालिकाको दिङला रंगशाला पनि निर्माण काम भईरहेको छ । यस्तै प्रदेश १ सरकारकै रु.५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलमैदान र रु.२५ लाख लागतमा हतुवागढी गाउँपालिका १, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रंगशाला निर्माणको क्रम जारी छ । अन्य दर्जनौ खेलकुद आयोजनाहरु सञ्चालनमा छन् । जसले खेलकुद मैदान अभावमा पलायन हुने युवा खेलाडीलाई उत्साह थपिदिएको छ ।

Leave a Comment